महाभारतको युद्ध समाप्त भइसकेको थियो । युद्धभूमिमा योद्धाहरूका फाटेका वस्त्र, मुकुट, टुटेका हातहतियार, टुटेका रथहरूका पाङ्ग्रा, छत्र, मुकुटहरू जताततै छरपस्ट भएका थिए । वायुमण्डलमा घोर उदासी छाएको थियो । गिद्ध, कुकुर, स्यालहरूको उदास तथा डरलाग्दा स्वरहरूबीच निर्जन भइसकेको त्यस भूमिमा ‘द्वापरका सबैभन्दा महान् योद्धा देवव्रत’ (भीष्म पितामह) शरशय्यामा परेर सूर्य उत्तरायण हुने प्रतीक्षा गरिरहेका थिए एक्लै…!
त्यतिखेरै उनका कानमा एउटा परिचित मधुर ध्वनि मधु घोल्दै आइपुग्यो– ‘प्रणाम पितामह…!’
भीष्मका सुकिसकेका ओठहरूमा एउटा मरिसकेको मुस्कान तग्रिएर उठ्यो अनि भन्नुभयोे– ‘आऊ देवकीनन्दन…! तिमीलाई स्वागत छ….! म धेरैबेरदेखि तिम्रै स्मरण गरिरहेको थिएँ….!’
कृष्णले भन्नुभयो– ‘के भनूँ पितामह, अब त हजुर कस्तो हुनुहुन्छ’ भनेर यो पनि सोध्न सक्दिनँ…।’
भीष्म चुप लागिरहनुभयो अनि केही क्षणपछि भन्नुभयो– ‘पुत्र युधिष्ठिरको राज्याभिषेक गराइसक्यौ केशव…? उनको ध्यान राख्नु, परिवारका बुजुर्गहरूबाट रिक्त भइसकेको राजप्रासादमा उनीहरूलाई अब अरू सबैभन्दा बढी तिम्रै आवश्यकता छ ।’
कृष्ण चुप रहनुभयो ।
भीष्मले फेरि भन्नुभयो– ‘केही सोधूँ केशव…? बडो सही समयमा आएका छौ…। सम्भवतः धरा छोड्नुपूर्व मेरा अनेक भ्रम समाप्त हुन्छन् कि !’
कृष्णले भन्नुभयो– ‘भन्नु न पितामह !’
भीष्म– ‘एउटा कुरा भन त ! तिमी त ईश्वर हौ नि ?’
कृष्णले बीचैमा भन्नुभयो– ‘हैन पितामह, म ईश्वर होइन, म त हजुरको पौत्र हूँ पितामह…ईश्वर होइन…।’
भीष्म त्यस घोर पीडामा पनि खित्का छोडेर हाँस्नुभयो । उहाँले भन्नुभयो– ‘आफ्नो जीवनलाई सही रूपमा आंकलन गर्न सकिनँ कृष्ण, राम्रो भयो कि नराम्रो त्यो म जान्दिनँ । अब त छल्न छाड्देऊ न…!’
कृष्ण खै किन हो भीष्मको छेउमा सर्नुभयो अनि उहाँको हात समाएर भन्नुभयो– ‘भन्नुहोस् पितामह !’
भीष्मले भन्नुभयो– ‘एउटा कुरा भन कन्हैया, यो युद्धमा जे भयो, के त्यो ठीक थियो र ?’
कृष्ण– ‘कसको तर्फबाट पितामह ? पाण्डवहरूको तर्फबाट ?’
भीष्म– ‘कौरवहरूका कृत्यहरू माथि चर्चाको त अब कुनै अर्थ नै छैन कन्हैया ! तर, के पाण्डवहरूका तर्फबाट जे भयो त्यो सही थियो त…? आचार्य द्रोणको बध, दुर्याेधनको जाँघमुनि प्रहार, दुः शासनको छाती च्यातिनु, जयद्रथ र द्रोणाचार्यसँग भएको छल, निहत्था कर्णको बध, के सबै ठीक थिए त ? के यी सबै उचित थिए त ?
कृष्ण– ‘यसको उत्तर म कसरी दिन सक्छु पितामह ? यसको उत्तर त उनीहरूले दिनुपर्छ ज–जसले यी काम गरे । दुर्याेधन, दुःशासनको बध गर्ने भीमले उत्तर दिऊन्, कर्ण र जयद्रथको बध गर्नेवाला अर्जुनले उत्तर दिउन् । म त यस युद्धमा कहीँकतै थिइन् पितामह !’
भीष्मले भन्नुभयो– ‘अझै पनि छलिया प्रवृत्ति छोड्दैनौ कृष्ण ? अरे ! महाभारत त अर्जुन र भीमले जितेका हुन् भनेर विश्वले भनिरहोस् तर कन्हैया, म त यही मान्छु कि यो त तिम्रो केबल तिम्रो विजय हो । म त उत्तर पाउन तिमीलाई नै सोध्छु नि कृष्ण !’
कृष्ण– ‘त सुन्नुहोस् पितामह ! केही पनि नराम्रो भएन, केही अनैतिक भएन । त्यही भयो जो हुनुपथ्र्यो ।’
भीष्मले भन्नुभयो– ‘यो तिमी भनिरहेका छौ केशव ? मर्यादा पुरुषोत्तम रामका अवतार कृष्ण भनिरहेका छन् ? यो छल त कुनै युगमा पनि हाम्रो सनातन संस्कारहरूको अङ्ग रहेन, फेरि यो उचित कसरी भयो ?’
कृष्ण– ‘इतिहासबाट शिक्षा लिइन्छ पितामह, तर निर्णय वर्तमानका परिस्थितिहरूका आधारमा लिनु पर्दछ । हरेक युगले आफ्ना तर्कहरू तथा आवश्यकताका आधारमा आफ्नो नायक चुन्दछ । राम त्रेतायुगका नायक हुनुहुन्थ्यो, मेरो भागमा द्वापर आएको छ । हामी दुबैको निर्णय एकै खालको हुन सक्दैन पितामह ।’
‘मैले बुझ्न सकिनँ कृष्ण ! अलिक बुझाइदेऊ न ।’ –भीष्मले भन्नुभयो ।
कृष्ण– ‘राम र कृष्णका परिस्थितिहरूमा धेरै अन्तर छ पितामह ! रामको युगमा खलनायक पनि ‘रावण’ जस्तो शिवभक्त हुन्थ्यो । त्यसबेला रावण जस्तो नकारात्मक शक्तिको परिवारमा पनि विभीषण, मन्दोदरी, माल्यवान जस्ता सन्त हुने गर्थे । त्यतिखेर बाली जस्तो खलनायकको परिवारमा पनि तारा जस्ती विदुषी स्त्रीहरू र अङ्गद जस्ता सज्जन पुत्र हुन्थे । त्यस युगमा खलनायकले पनि धर्मको ज्ञान राख्दथ्यो । यसर्थ रामले उनीहरूसित कहीँ छल गर्नुभएन । परन्तु मेरो युगको भागमा त कंस, जरासन्ध, दुर्याेधन, दुः शासन, शकुनि, जयद्रथ जस्ता घोर पापी आएका थिए । तिनको समाप्तिका लागि हर छल उचित छ पितामह ! पापको अन्त्य आवश्यक छ पितामह, त्यो चाहे जुनसुकै विधिबाट होस् ।’
भीष्म– ‘के तिम्रा यी निर्णयहरूबाट गलत परम्पराहरू प्रारम्भ हुँदैनन् त केशव ? के भविष्यले तिम्रा यी छलहरूको अनुशरण गर्देन ? अनि यदि ग¥यो भने त के त्यो उचित होला ?’
कृष्ण– ‘भविष्य त यसभन्दा पनि अधिक नकारात्मक आउँदैछ पितामह ! कलियुगमा त यतिले पनि काम चल्ने छैन । त्यहाँ त मनुष्यले कृष्णभन्दा पनि कठोर हुनु पर्नेछ । नभए त धर्म समाप्त हुनेछ । जब क्रूर र अनैतिक शक्तिहरू सत्य र धर्मलाई समूल नाश गर्नका लागि आक्रमण गरिरहेका हुन्छन्, त्यतिखेर नैतिकता अर्थहीन हुन जान्छ पितामह ! तब धर्मको विजय महत्वपूर्ण हुन्छ, केवल धर्मको विजय । भविष्यले यो सिक्नै पर्दछ पितामह !’
भीष्म– ‘के धर्मको पनि नाश हुन सक्छ त केशव ? अनि धर्मको नाश यदि हुनु नै छ भने के मनुष्यले यसलाई रोक्न सक्छ ?’
कृष्ण– ‘सबैथोक ईश्वरको भरोसामा छोडेर बस्नु मूर्खता हुन्छ पितामह ! ईश्वरले स्वयम् केही पनि गर्दैन । केबल मार्गदर्शन गराउँछ । सबै मनुष्यले नै गर्नु पर्दछ । हजुर मलाई पनि ईश्वर भन्नुहुन्छ हैन त ? भन्नुहोस् न पितामह, मैले स्वयम् यस युद्धमा केही गरेँ ? सबै पाण्डवहरूले नै गर्नुप¥यो नि हैन ? यही प्रकृतिको संविधान हो । युद्धको पहिलो दिनमै मैले अर्जुनसँग यही भनेको थिएँ । यही परम्सत्य हो ।’
भीष्म अब चाहिँ सन्तुष्ट हुनुभएको थियो । उहाँका आँखाहरू बिस्तारै–बिस्तारै बन्द हुन लागेका थिए । उहाँले भन्नुभयो– ‘जाऊ कृष्ण, यो क्षण यस धरामा अन्तिम रात्रि हो…। भोलि सम्भवतः जानुपर्ला । आफ्नो यो अभागी भक्तलाई कृपा गर्नु कृष्ण..!’
कृष्णले मनमनमै केही भन्नुभयो र भीष्मलाई प्रणाम गरेर फर्किनुभयो, तर युद्धभूमिको त्यो भयानक अन्धकारमा भविष्यलाई जीवनको सबैभन्दा ठूलो सूत्र मिलिसकेको थियो । जब अनैतिक तथा क्रूर शक्तिहरू सत्य र धर्मको विनाश गर्नका लागि आक्रमण गरिरहेका हुन्छन्, त्यसबेला नैतिकताको पाठ आत्मघाती हुन्छ ।
मूल रचना : पं. देव शर्मा