उपाधिका लागि सालबारी र गोलधाप एफसीले प्रतिस्पर्धा गर्ने

0
145

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० स्थित सेतीपानीमा जारी प्रथम यू–१४ क्लबस्तरिय फुटबल प्रतियोगिता–२०८१ को उपाधिका लागि सालबारी एफसी र गोलधाप युथ एफसीले प्रतिस्पर्धा गर्ने भएको छ ।

स्थानीय सिंहबाहिनी आधारभूत विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न भएको पहिलो सेमीफाइनलमा विजयी भएको स्थानीय सेतीपानी सीएम एफसीले प्रतियोगिताको नियम विपरीत खेलाडी सहभागी गराएको पुष्टि भएपछि अर्जुनधारा–११ स्थित सालबारी फाइनलमा पुग्न सफल भएको हो ।

खेलमा २–१ गोल अन्तरले पराजित भएको सालबारी टिमका व्यवस्थापक देवेन्द्र वि.क.ले सेतीपानीका तीन जना खेलाडी बिरुद्ध उजुरीसहितको विरोध पत्र आयोजक स्थानीय वडा खेलकुद विकास समितिमा पेश गरेका थिए ।

विरोध पत्रमाथि छलफल पश्चात् आयोजक समितिको छानविन समितिबाट सेतीपानीले नियम विपरीत खेलाडी सहभागी गराएको, आवश्यक कागजपत्र पेश नगरेको पुष्टि भएपछि नियम अनुसार सेतीपानी फाइनल खेलको लागि अयोग्य भएको समितिका अध्यक्ष सुजन मगरले जानकारी दिए ।

पहिलो सेमीफाइनल खेलका उत्कृष्ट खेलाडी सेतीपानीका सौरभ बानियाँलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”ले नगद पुरस्कार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । त्यसैगरी सोही दिन सम्पन्न अन्तिम सेमीफाइनलमा स्थानीय मनास्लु एफसीलाई टाइब्रेकरमा ४–५ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–९ स्थित गोलधाप युथ एफसी फाइनलमा पुग्न सफल भएको हो ।

निर्धारित खेलमा दुवै टिमबाट २–२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । आत्मघाती गोलबाट खेलमा अग्रता लिएको गोलधापका लागि अर्को गोल कुदेन मगरले गोल गरेका थिए ।

त्यसैगरी मनास्लुका लागि प्रविन तामाङ र विधान तिम्सिनाले गोल गरेका थिए । उक्त खेलका उत्कृष्ट खेलाडी मनास्लुका प्रविन तामाङलाई नगद पुरस्कार पाँच सयसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको फाइनल खेल भोलि(सोमबार) दिँउसो ३ बजे हुने २ नं टोल विकास समितिका सदस्य एवम् कार्यक्रम सञ्चालक देव झापालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here