भद्रपुर । भद्रपुर नगरपालिकाले शिक्षक, विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एसइई परीक्षा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप, कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको हो ।
भद्रपुर–६ स्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलको सभाहलमा आइतबार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयतर्फ २०८० सालको एसइई परीक्षामा ३।८३ जीपीए ल्याउने वीरेन्द्र माविका छात्र सऋद्ध गुरागाईँ र ३।८२ जीपीए ल्याउने वीरेन्द्र माविकी छात्रा सिमरन दाहाललाई एक÷एक थान ल्यापटप वितरण गरिएको थियो । दुवै विद्यार्थी अध्ययनका लागि काठमाडौँमा रहेकाले उनीहरूका अभिभावकलाई ल्यापटप प्रदान गरिएको थियो । नगरपालिकाले विद्यार्थीलाई ल्यापटप वितरण गरेको यो तेस्रो पटक हो ।
त्यस्तै कक्षा ८ को परीक्षामा सामुदायिकतर्फ उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू सरस्वती माविका प्रज्ञान कोइराला, दीपा चम्लागाई, प्रतिष्ठा फुयाँल, सन्जना घिमिरे, अरनिको माविकी श्रेयस्कर खरेल, प्रतिभा सुवेदी, वीरेन्द्र माविका शशाङ्क न्यौपाने र सिद्धि सिंह नगदसहित पुरस्कृत भएका छन् ।
त्यसैगरी संस्थागततर्फ एमरेल्ड एकाडेमीका आदित्यराज खरेल, विभूति विद्या मन्दिरका श्वरुपराज भट्टराई, श्रेया ढकाल, ग्यालेक्सी इङ्लिस स्कुलका सृजन तामाङ, ऋतिका राजवंशी, एसएस निकेतनका रिदेक पोखरेल, सिद्धार्थ स्कुलका सालिन राई, उत्सव ढकाल, साहिली चौधरी, नेशनल मेरिगोल्डकी शुभेच्छा भण्डारी र प्रज्ञा एकाडेमीकी समृद्धि दाहाल नगदसहित पुरस्कृत भएका छन् ।
त्यस्तै सेवा निवृत्त शिक्षकहरू जनकल्याण आविका बालानाथ रेग्मी, श्री आविका भक्तबहादुर प्रधान, मेची आविका गोपाल रिजाल, भृकुटी प्राविका प्रेमप्रसाद भट्टराई, हिमाली माविका मधुसूदन न्यौपाने, वीरेन्द्र माविकी कल्पना पोखरेल, चन्द्रभानु ज्योति माविकी रिनाकुमारी सुब्बा, महेशपुर आविका नारद प्याकुरेल र कलवलगुडी आविकी कल्पना पोखरेल राउतलाई दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरिएको थियो । व्यवस्थापन समितिको अध्यक्ष भई दीर्घ सेवा गरेबापत खगेन्द्र लम्साल र युवा लक्षित ब्युटी पार्लर तालिम प्रशिक्षक सुशीला कार्की पौडेललाई समेत कदरपत्र प्रदान गरिएको थियो ।
सम्मानित तथा पुरस्कृत हुने शिक्षक तथा विद्यार्थीहरूलाई नगर प्रमुख गणेश पोखरेल, नगर उपप्रमुख राधा कार्की, शिक्षा शाखाका प्रमुख पवित्रा ढकाल लगायतले सम्मान पत्र तथा नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, सामाजिक विकास समितिका संयोजक सीता गुरागाईँ, नेपाल शिक्षक महासंघका अध्यक्ष पुरुषोत्तम खरेल, सेवा निवृत्त शिक्षक नारद प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले गरेका थिए ।






























