बिर्तामोड,
बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ ।
मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो ।
बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो ।
बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।
यस्तै सिं सैनिकमोडको एउटा निर्माणधिन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।
यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् । उद्दार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । उहाँले यस प्रकारका वेसाहारा नागरिक बिर्तामोड क्षेत्रमा कोहि भेटिए उद्दार गरीने पनि जानकारी दिनु भयो ।
मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार मेचीनगर आश्रममा मात्रै २८ जनाले आश्रय लिएका छन् । उनीहरु सबैजना झापाबाटै उद्दार गरिएका हुन् ।