झापा, स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा लापर्वाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका छन् । बिर्तामोड–२ भगवान चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नं. २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहमद इर्साद हुसेनको उपचारका क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको थियो । त्यसपछि आफन्तहरुले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।
अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । अस्पताल पक्षले उपचार खर्च मिनाहा लगायतका सहमतिमा विवाद मिलाएको बताइएको छ । त्यसपछि मृतक परिवारले शव बुझेका थिए । हुसेन पाँचथरको एक ट्रयाक्टर ग्यारेजमा काम गर्दथे ।
पाँचथरको फिदिम नगरपालिका वडा नं. २ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँँदै गरेको हुसेन चढेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो । तिघ्रामा चोट लागेर हुसेन गंभीर घाइते भएका थिए ।
उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सोही दिन बेलुका स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो ।
ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं.२ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ।
३० करोड रुपैयाँ लगानीमा नेपालमै पहिलोपटक झापामा स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको बताइएको छ । सन् २०२४को अवसर पारेर १५ शैय्याको अस्पताल उद्घाटन गरिउको र अस्पतालको सेवा विस्तारसंगै ५० करोड लगानी गर्दै अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने लक्ष्य लिइएको अस्पताल सञ्चालक डा. प्रेमबहादुर शाहीले दावी गर्दै आएका थिए ।
ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधिबाट स्पाइन सम्बन्धी सम्पूर्ण उपचार, सानो घाउ पारेर, हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार, न्यूरोको अत्याधुनिक प्रविधिसहितको इण्डोभास्कुलर न्यूरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन ९एमसीएच०बाट सेवा, गाइनोतर्फ बाँझोपन सम्वन्धी विशिष्टिकृत डाक्टरहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा, अत्याधुनिक प्रविधिको भिडियो एक्स– रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसीयु, नर्सरी, एचडीयु सेवा प्रदान गरिने बताइएको छ ।