झापा ।
भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैंया बराबरका बिलबिजक नभएका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रहरीले आव २०७८/७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९/८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा रु एक करोड ७८ लाख ९७ हजार आठ सय ४६ मूल्यका चार हजार दुई सय ८९ दशमलव ४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जना मानिस पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।
प्रहरीले आव २०७८/७९ मा एक हजार दुई सय ६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार चार सय ७२ क्यूबिक फिट र आव २०८०/८१ मा पाँच सय ४९ दशमलव ४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।