सुरुङ्गा ।
झापाको कनकाई- ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सभाले अध्यक्षमा स्थानीय समाजसेवी युवराज सङ्ग्रौलालाई सर्वसम्मत निर्वाचित गरेको छ । झापा उद्योग वाणिज्य सङ्घ सुरुङ्गाका पूर्व अध्यक्ष, कनकाई उद्योग वाणिज्य सङ्घ झापाको संस्थापक अध्यक्ष, साविक डाँगीवारी गाविस वडा नं. ४ को निर्वाचित वडाअध्यक्ष (२०५४) लगायतका जिम्मेवारी पुरा गरेका सङ्ग्रौला स्थानीय स्तरमा एक निडर र प्रष्ट वक्ताका रूपमा परिचित छन् ।
सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कनकाई घाट लगायतका संस्थामा आबद्ध रही सफल नेतृत्व प्रदान गरिसकेका सङ्ग्रौलाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरिएको हो । संस्थाको उपाध्यक्षमा तोमप्रसाद बारकोटी र सचिवमा नरेन्द्रप्रसाद फुयाँल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः हिरण्यकुमार राई, दुर्गाप्रसाद चापागाईँ, गीतादेवी पाण्डे (भेट्वाल), धर्मप्रसाद उप्रेती, गोमादेवी कार्की र योगेन्द्र खतिवडा रहेका छन् ।
सोही अवसरमा संस्थाको लेखा सुपरीवेक्षण समिति समेत सर्वसम्मत रूपमा चयन भएको छ । जसको संयोजकमा लीलाप्रसाद उप्रेती र सदस्यहरूमा क्रमशः कुलबहादुर बस्नेत र अम्बरबहादुर कार्की चयन भएको निर्वाचन उपसमितिले जनाएको छ । संयोजक ईश्वरीप्रसाद शिवाकोटी, सदस्यद्वय देवीप्रसाद बाँस्तोला र अम्बिका महत उप्रेती सदस्य रहेको निर्वाचन उपसमितिले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।
संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेतीको विशेष पहलमा २०५७ को पुस १४ गतेदेखि सेवा सुचारु गरेको संस्थामा स्थापनाकालमा २५ जना शेयर सदस्य रहेकोमा हाल १ हजार ६ सय ९१ शेयर सदस्य भइसकेको र २ लाख ५० हजार शेयर पुँजी लगानी गरी सञ्चालनमा ल्याएको भगवती साकोसमा हाल शेयर पूँजी ३ करोड ७९ लाख रुपैयाँ पुगेको कार्यालय व्यवस्थापक महेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।
अध्यक्ष प्रसाईद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक लीलाप्रसाद उप्रेतीद्वारा प्रस्तुत आ. व. २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण प्रतिवेदन सभाले पारित गरेको थियो । त्यसै गरी सभाले आ.व. २०८१/०८२ को वार्षिक कार्ययोजना तथा कार्यक्रम पनि पारित गरिएका थिए ।
त्यसैगरी, कार्यविधिहरूमा समय सापेक्ष आवश्यक संशोधन तथा पुनरलेखन पनि गरेको जानकारी दिइयो । सभाले ऋण व्यवस्थापन कार्यविधि–२०८१, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधि–२०८१, शेयर सदस्यता नीति तथा कार्यविधि–२०८१, बैठक सञ्चालन तथा सेवा सुविधा सम्बन्धी कार्यविधि–२०८१, उपसमिति व्यवस्थापन कार्यविधि–२०८१ र कोष परिचालन कार्यविधि–२०८१ पारित गरेको छ ।
संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईँको अध्यक्षता, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य, कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेलको विशेष आतिथ्यमा भएको साधारणसभामा ज्येष्ठ नागरिक देवीचरण थपलिया, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुरुङ्गाका सचिव तेजु प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव लीलाप्रसाद भेटवालले सञ्चालन गरेका थिए ।