अन्तर विद्यालय चित्रकला प्रतियोगितामा कालिस्थान माविका गौतम प्रथम

0
64

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शुक्रबार सम्पन्न भएको अन्तर विद्यालय (कक्षा ६–८) चित्रकला प्रतियोगितामा अर्जुनधारा–९स्थित कालिस्थान माध्यमिक विद्यालयका छात्र यशश्वी गौतम प्रथम भएका छन् ।

विद्यार्थीमा अन्तरनिहीत प्रतिभा उजागर गर्ने उद्देश्यले ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा अर्जुनधारा–१ स्थित भीमले आधारभूत विद्यालयका छात्र तिहाङ राई द्धितीय, अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा रुकसा भण्डारी तृतीय र अर्जुनधारा–४स्थित अर्जुनधारा माध्यमिक विद्यालयकी छात्रा रश्मी खड्का सान्तवना भएका छन् ।

अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको सहजिकरण र अर्जुनधारा–५ नं. वडा कार्यालयको व्यवस्थापन सहयोगमा अर्जुनधारा–५ कञ्चनबारीस्थित श्री आधारभूत विद्यालयमा आयोजित प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि शाखा प्रमुख तोयानाथ रेग्मीले नगद पुरस्कार दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र पाँच सयसहित प्रमाण पत्र वितरण गरेका थिए ।

जम्मा १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका अन्य सहभागी विद्यार्थीहरुलाई पनि प्रमाण पत्रसहित यातायात खर्च वितरण गरिएको केन्द्रकी परिचालक मञ्जु दाहाल न्यौपानेले जानकारी दिइन् । प्रतियोगिताको निर्णायकमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पवन राजवंशी र चित्रकार युवराज रिजाल रहेका थिए ।

केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत उपाध्यक्ष देवकला प्रसाईंले र कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here