भानुभक्ति स्मृतिग्रन्थ विमोचन

0
36

सुरुङ्गा।

श्री भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठान झापाद्वारा प्रकाशित भानुभक्ति स्मृतिग्रन्थ एक विशेष समारोहका वीच विमोचन गरिएको छ ।

विर्तामोडस्थित जयन्द्रप्रसाद प्रसाईं भवनको सभाकक्षमा तिम्सिना समाज झापाका अध्यक्ष दाताराम तिम्सिनाको सभापतित्व र व्यासाचार्य दुर्गाप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, प्राध्यापक वासुदेव खनाल, समालोचक डा.पुण्यप्रसाद सिग्देल र समीक्षक भीम दाहालले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

श्री भानुभक्ति तिम्सिना स्मृति प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षासेवी डम्बरप्रसाद फुयाँल, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, कन्काई मावि सुरुङ्गाका पूर्व प्रधानाध्यापक गोपीकृष्ण भट्टराई, सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिना, नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतको आतिथ्य रहेको थियो ।

पुत्र देवीप्रसाद तिम्सिनाको विशेष पहलमा आफ्ना स्वर्गवासी पितामाता भानुभक्त तिम्सिना र भक्तिमाया तिम्सिनाको नाममा प्रतिष्ठान स्थापना गरी स्मृतिग्रन्थ प्रकाशित गरेकोमा सबै वक्ताले देवीप्रसादको प्रशंसा गरेका थिए । मातापितालाई ईश्वरसँग तुलना गर्न मिल्दैन, किनभने उनीहरु ईश्वरभन्दा पनि माथि रहेकोमा सबैको जोड थियो ।

समीक्षक भीम दाहालले कृति साहित्यिक हिसाबले मात्र नभएर ऐतिहासिकता, संस्कृतिको संरक्षण, मातापिताको सेवाभाव र निस्वार्थताको चित्रणको दृष्टिबाट सफल रहेको बताएका थिए । कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, प्राध्यापक वासुदेव खनाल, समालोचक डा.पुण्यप्रसाद सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानका संरक्षक रुपादेवी खनाल, स्वर्गीय भानुभक्त तिम्सिना र भक्तिमाया तिम्सिनाका नातिनी बुहारी रीता पौडेल (तिम्सिना) लाई विशेष सम्मान गरिएको थियो ।

साहित्यकार, शिक्षक, प्राध्यापक, पत्रकार, साहित्यानुरागी तथा तिम्सिना समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here