झापा।
चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर हङकङमा निधन भएका उत्तम थापाको शब नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।
मेचीनगर –१० टीमाई भ्यालीका थापा चीनवाट हङकङ जाने क्रममा गत ४ मे २०२४ मा दुर्घटनामा परेका थिए । उनको भदौ १७ गते हङ्कङस्थित पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनी डुङ्गाबाट झरेर घाइते भएका थिए । चार महिनासम्म उनको हङ्कङस्थित अस्पतालमा उपचार गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो ।
घाइते थापालाई नेपाल ल्याउने तयारी गरिरहेका बेला उनको निधन भएको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए । थेवेका अनुसार उनलाई एक जना नर्सको सेवा सहित हाल हङ्कङमा रहेका नेपाली कांग्रेस झापाका सभापति थेबेको टोलीले स्ट्रेचरमा राखेर नेपाल ल्याउने तयारी गरिरहेको बेला उनको निधन भएको हो ।
उपचारको क्रममा करिव १५ लाख हङ्कङ डलर अर्थात नेपाली दुई करोड ७० लाख रुपैयाँ खर्च भएको र सो रकम समाजसेवी पुष्पा गुरुङ लगायतको पहलमा मिनाह गरिएको अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष छत्र सुब्बाले जानकारी दिए । उनको शव नेपाल ल्याउनका लागि कानूनी प्रक्रिया भइरहेको थेवेले बताए । ६० हजार हङ्कङ डलर अर्थात दश लाख ८० हजार रुपैयाँ शव ल्याउन लाग्ने बताइएको छ ।
थापाको उपचारका क्रममा त्यहाँस्थित नेपाली जनसम्पर्क समिति, हङ्कङ झापा मञ्च, द नेप्लिज एशोसिएसनले सहयोग पु¥याएको बताइएको छ । उनको निधनसँंगै उनको उपचारमा जुटाइएको रकम उनको परिवारलाई पठाएको बताइएको छ । शव नेपाल ल्याउनका लागि एक साता लाग्ने र शव नेपाल ल्याएसंँगै काठमाडौं झापा सम्पर्क समितिले शवको जिम्मा लिने र परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं.१ बाट निर्वाचित सांसद विश्वप्रकाश शर्माले सरकारसँगको समन्वयमा थापालाई नेपाल झिकाएर थप उपचार गर्ने पहल गरिरहेका बेला उनको निधन भएको बताएका छन् ।
स्रोतका अनुसार हाल हङ्कङमा रहेका कांग्रेस झापाका सभापति थेबेसहितको टोलीले थापाको शव भदौ २९ गते नेपाल ल्याउने तयारी भएको छ । थापाको उपचार र शव नेपाल पठाउने कार्यमा हङ्कङ झापा मञ्च, कांग्रेस निकट जनसम्पर्क समिति हङ्कङ, हङ्कङका लागि महावाणिज्यदूत उदयबहादुर राना, वाणिज्यदूत सतिशकुमार गुरुङ लगायतले सहयोग गरेको बताइएको छ ।
उपचारको क्रममा मेचीनगर –६ काँकरभिट्टा घर भई हाल हङ्कङ बस्दै आएकी पुष्पा गुरुङले थापाको लामो समयसम्म हेरचाह र सेवा गरेको बताइएको छ ।
त्यस्तै हङ्कङ तमू समाज तथा अध्यक्ष कोमल गुरुङ, हङ्कङ मगर संघ, दृष्टि काउन्सिलर अरुणा गुरुङ, हङ्कङ नेपाली महासंघ, एनआरएनए हङ्कङ, प्रदीप थापा, रीता गुरुङ, ताहिर खान, सञ्जीव लिङ्देन, नवीन सुहाङ लगायतले विशेष सहयोग पु¥याएको कांग्रेस झापाका सभापति थेबेले जानकारी दिए ।