नेपाल प्रतिवर्ष सुत्केरी हुनेमध्ये करिब दुई लाख १९ वर्षमुनिका हुन्छन् । वार्षिक चौध प्रतिशत किशोरी गर्भवती हुन्छन् र कूल विवाहको तीन प्रतिशत किशोरी १५ वर्ष तलका हुन्छन् । नेपालको कानून अनुसार २० वर्ष नपुग्दै भएको विवाह गैरकानूनी हो । त्यस्तै बच्चा जन्माउँदा कम्तीमा महिलाको उमेर २१ वर्ष हुनै पर्छ । तर, समाजमा यस्तो कानूनको पालना भइरहेको छैन । काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको तथ्यांक मात्रै हेर्दा देशको कानूनको अवज्ञा भइरहेको पुष्टि हुन्छ । उसले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अस्पतालमा मात्रै प्रतिवर्ष एक हजार आठ सय १९ वर्षमुनिका किशोरीहरुले शिशु जन्माइरहेका छन् । यस हिसाबमा देशभरिको तथ्यांक अझ कति होला ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका चौध प्रतिशतले गर्भधारण गर्छन् । यसो हुनुका पछि धेरै कारण जिम्मेवार छन् । कतिपय समुदायमा सानै उमेरमा छोरीको विवाह गरिदिने चलन छ । त्यस्तै अशिक्षा, गरिबी, वेरोजगारी र अज्ञानता लगायतका कारणले पनि बाल विवाह भइरहेको छ । अझ आधुनिकता, भौतिकता र विलाशीतामा अलमलिएको आजको पुस्तामा प्रविधिको प्रयोग, खाद्यवस्तु र शारीरिक श्रम नगर्ने जस्ता कारणले बालिकाहरुको शरीर असमय मोटो र ठूलो हुने गरेको छ । यसले छिट्टै महिनावारी शुरु हुने र आनन्दको पछि दौडिँदा शारीरिक सम्पर्क तथा गर्भधारण गर्ने परिस्थिति पनि डरलाग्दो हुँदै गएको छ ।
प्रदेशगत तथ्यांकले यस्तो समस्या कर्णाली प्रदेशमा सबैभन्दा बढी रहेको देखाएको छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार कर्णालीमा १९ वर्ष मुनिका एक्काइस प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् । त्यसपछि मधेश प्रदेश दोस्रो स्थानमा छ, जहाँ त्यही उमेरका बीस प्रतिशत किशोरी गर्भवती हुन्छन् । गण्डकी, कोशी र सुदूरपश्चिममा समान तेह्र प्रतिशत, लुम्बिनीमा दश र बाग्मतीमा आठ प्रतिशत किशोरी कम उमेरमै गर्भवती हुने गरेका छन् । किशोरावस्था शारीरिक तथा मानसिक रुपले परिपक्व हुने उमेर हो, त्यसैले यो उमेर समूहका किशोरकिशोरीलाई उचित मार्गदर्शन आवश्यक हुन्छ । तर, सर्वेक्षणले पन्ध्र वर्ष उमेर नपुग्दै किशोरकिशोरीले यौन सम्पर्क गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।
सानै उमेरमा गर्भधारण गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । गर्भवती र गर्भस्थ शिशुको स्वास्थ्यमा असर पर्छ । आमाको मानसिक परिपक्वता आइसकेको हुँदैन, न निर्णय गर्ने क्षमता नै हुन्छ । अझ किशोरकालमै आमा बन्दा दुबैको जीवन जोखिममा पर्छ । सुरक्षित रहे पनि शिशुको वृद्धि विकास हुन गाह्रो हुन्छ । प्रसूतिका लागि शरीरको पूर्ण विकास नभएका कारण आमाको मृत्यु हुन सक्ने जोखिम रहन्छ । त्यसैले कानूनी व्यवस्थाले २० वर्ष र २१ वर्ष भने पनि त्यही कानूनमा १८ वर्षलाई बालिग मानेको छ । यस्तो विरोधाभासपूर्ण कानूनी व्यवस्थालाई व्यावहारिक बनाउँदै बाल विवाह सम्बन्धी धारणा र परम्परामा परिवर्तन ल्याउन सरकार र सम्बद्ध पक्षले समीक्षासहितको कानून कार्यान्वयनमा जोड दिनु पर्दछ ।