भीमले आविलाई इनरव्हील क्लब अफ अर्जुनधारा र बिर्तामोड मिडटाउनको सहयोग

0
125

अर्जुनधारा।

झापाको अर्जुनधारा–१ स्थित भीमले आधारभूत विद्यालयलाई आइतबार एक कार्यक्रमकोबिच शैक्षिक सामग्रीसहित कक्षा कोठाको लागि आवश्यक कार्पेट र सिलिङ फेन उपलब्ध भएको छ ।

६०औं राष्ट्रिय बाल दिवसको अवसरमा इनरव्हील क्लब अफ अर्जुनधारा र इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त सहयोगमा विद्यालयलाई उक्त सामग्रीहरु उपलब्ध भएको हो ।

सुगम पालिकाको दुर्गम भेगमा रहेको त्यस विद्यालयमा अध्धयन गर्ने विद्यार्थीहरुका लागि गुणस्तर शिक्षा आर्जनमा सहयोग पु¥याउने उद्देश्यले सामग्रीहरु वितरण गरिएको इनरव्हील क्लब अफ अर्जुनधाराकी अध्यक्ष बिनीता थापा तामाङले बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षता र वडाध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्लब अफ अर्जुनधाराकी अध्यक्ष तामाङ, बिर्तामोड मिडटाउनका अध्यक्ष जुनु बिमली उप्रेती र चार्टर अध्यक्ष भूमिका पोखरेलले संयुक्तरुपमा सामग्रीहरु समितिका अध्यक्ष बराल र विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर प्याकुरेललाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा तीन वटा कक्षा कोठाको लागि ५४ मिटर कार्पेट, दुई वटा सिलिङ फेन र १०–१० दर्जन कपि र पेन्सिल रहेका छन् । त्यसैगरी विद्यालयलाई हस्तान्तरण गरिएको खाद्य सामग्रीहरुमा जुस, चकलेट र बिस्कुट पनि रहेको छ ।

सोही कार्यक्रममा गत भदौ २८ गते जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा दोस्रो हुन सफल भीमले आधारभूत विद्यालयका छात्र तिहाङ राईलाई पनि विद्यालयकोतर्फबाट सम्मानित गरिएको थियो ।

बिर्तामोड मिडटाउनकी चार्टर अध्यक्ष पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा बिर्तामोड मिडटाउनकी अध्यक्ष उप्रेतीलगायतले मन्तव्य राखेका थिए । प्रधानाध्यापक प्याकुरेलले धन्यवाद ज्ञापन र शिक्षक विनिता ढुंगानाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक रोशन घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here