झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आज बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समिकरण बनाउने खेलमा नलाग्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र अब जनतासंग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने अध्यक्ष दाहालको भनाई छ ।
नेकपा एमाले र नेपाली कांग्रेसलाई २०८४ सालसम्म नै मिल्न र सरकार सञ्चालन गर्न शुभकामना दिएको बताउनु भएका अध्यक्ष दाहालले फेरि प्रचण्ड जी मिल्न प¥यो भन्दै नआउन आग्रह गर्नुभयो ।
यसैबीच पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित झापा बिर्तामोडका लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँसंगै ५ बढी विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कन्दङ्वाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुनुहुन्छ ।
कन्दङ्वासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता रणपहेलीपनि माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।
कार्यक्रममा पार्टीका अध्यक्ष दाहाल सहित उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।