जलथल रेडक्रस भवन निर्माणकार्य धमाधम

0
119

रत्नबहादुर बस्नेत/झापा, 

झापाको हल्दिबारी गाउँपालिका-४ स्थित नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखा कार्यालय भवनको निर्माणकार्य धमाधम भइरहेको छ। हल्दिबारी-४ मा तीन महिना अघि शिलान्यास गरिएको उक्त चारकोठे भवनको छत ढलाइ कार्य सम्पन्न भएसँगै निर्माणकार्य अन्तिम चरणमा पुगेको हो।

विभिन्न दाताहरूको सहयोगमा निर्माण भइरहेको उक्त भवनको अनुमानित लागत करीब २० लाख रुपैयाँ रहेको जलथल उपशाखा अध्यक्ष रेम खरेलले जानकारी दिए। आमाबाबुको पुण्य स्मृतिमा स्थानीय राजेन्द्र मैनालीले प्रदान गरेको एक कट्ठा जग्गामा निर्माणाधीन भवन निर्माणकार्यमा हालसम्म (छत ढलाइ कार्यसम्पन्न) १४ लाख रुपैैैयाँ खर्च भइसकेको बताइएको छ। उनले संस्थामा मौज्दात ५ लाख र देशविदेशका विभित्र दाताहरु, जलथलबासी शुभचिन्तक, रेडक्रसप्रेमी नागरिक,हल्दिबारी, भद्रपुर, बिर्तामोडका मनकारी दाताहरूको जिन्सी तथा नगद सहयोगमा अति आवश्यक भवन निर्माणकार्य संभव भएको बताए। बाँकी काम सम्पन्न गर्न समेत थप सहयोग जट्ने क्रम भइरहेको उनको भनाइ छ।

जिन्सी सहयोगमा रेडक्रस उपशाखा भद्रपुरबाट ५० बोरा सिमेन्ट र एक ट्याक्टर इटा,पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटा र योगन्द्र पराजुलीबाट एक/एक ट्याक्टर इटा, नवीन मैनाली एक टिपर बालवा, शेरबहादुर दाहाल एक ट्याक्टर बालुवा, कुमार कार्की २ ट्याक्टर गिटीलगायत रहेको बताइएको छ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले झापामा रहेका रेडक्रसका २६ उपशाखामध्ये सबैभन्दा बढी आजीवन सदस्य भएको दोस्रो उपशाखा रहेको जलथल उपशाखा भवनको अभाव भएको अवस्थामा केही समस्या भई ढिलै भए पनि भवन निर्माणकार्य सम्पन्न हुन लाग्नु राम्रो कुरा भएको भन्दै यसले मानवीय सेवासँग सम्बन्धित धेरै राम्रा कामहरु गरेको तथा यहाँका सबैको रेडक्रसप्रति सकारात्मक धारणा रहेको बताए। जिल्लाका २६ वटा उपशाखामध्ये २४ वटाको आफ्नै भवन रहेको र तिनको दाताहरुकै दान सहयोगबाट निर्माण गरिएको सभापति ढकालले बताए।

संस्था स्थापनाकालदेखि नै जलथल हल्दिबारीबासीको घरदैलोमा पुगेर आजीन सदस्य बनाउनुको साथै मनकारी दाताको सहयोगले भवन निर्माण संभव भएको संस्थापक अध्यक्ष श्रीप्रसाद शिवाकोटीले बताए। वि.स.२०६२ सालमा स्थापना भएको जलथल उपशाखाले स्थापना कालदेखि नै दाताहरुको सहयोगमा एम्बुलेन्स खरिद गरि सञ्चालनमा रहेको भए पनि समयावधि पूरा भई डेढ वर्षदेखि एम्बुलेन्स सञ्चालनमा रहेको छैन। भवन निर्माणकार्य सम्पन्न भएपछि त्यसतर्फ पहल गरिने उपाध्यक्ष तुलसा आचार्यले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here