विमल दहाल, इलाम ।

सानिमा बैंक लिमिटेडले प्रत्येक बर्ष प्रदान गर्दै आएको छात्रवृत्तिवाट माई नगरपालिकाका २ जना छात्रा छनौट भएका छन्।
माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनौट समितिले छात्रवृत्तिका लागि जनता मावि चिसापानीमा अध्ययनरत माई-१० की छात्रा सिता राई र कन्काई मावि दानाबारीमा अध्ययनरत माई -३ की छात्रा एलिसा पौड्याललाई छनौट गरेको छ । छात्रवृत्तिका लागि ६ जना बिध्यार्थीको निवेदन परेको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकले विगत १२ बर्ष देखि काठमाडौँ उपत्यका वाहिर रहेका प्रत्येक शाखाहरुबाट २-२ जना विद्यार्थीहरुलाई बिद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रबृत्ति प्रदान गर्दै आए अनुरुप शैक्षिक संस्थामा लाग्ने शुल्कहरु, शैक्षिक सामाग्रीहरु र अतिरिक्त मासिक २ हजार नगदवृति प्रदान गर्ने सानिमा माई शाखा माईका सहायक प्रबन्धक रोशन पौड्यालले जानकारी दिनुभयो।
प्रत्येक बर्ष प्रदान गर्ने छात्रवृत्ति एक जना बिद्यार्थी वरावर ५० हजार रुपैयाँ रहने र कक्षा ११ मा सबै विषयमा सफल रहेमा कक्षा १२ मा पनि सोही रकम बराबरको छात्रवृत्ति प्रदान गरिने छ । कक्षा ११ अध्ययनरत बिद्यार्थीहरु मध्येवाट आवेदनका आधारमा बैंकको छात्रवृत्ति सम्बन्धी ९ वटा मापदण्ड निर्माणका गरी विधार्थी छनौट गरिएको छनौट तथा सिफारिस समिति संयोजक उपमेयर हिमा भण्डारीले जानकारी दिनुभयो।
आवेदक स्थानीय, गरिव तथा विपन्न परिवारको, सरकारी तथा सामुदायिक बिद्यालयमा विगत ३ बर्ष देखि अध्ययनरत भई पहिलो प्रयासमै एसईई सफल भएको, बिद्यार्थी पुर्णकालिन छात्र छात्रा रहेको, हाल सम्म कुनै छात्रवृत्ति नपाएको लगायत मापदण्डका आधारमा छनौट गरिएको हो।
छात्रवृत्ति छनौट तथा सिफारिस समितिको संयोजकमा उपप्रमुख हिमा भण्डारी, सदस्यहरु माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावती, माई-३ का वडाध्यक्ष देवकुमार तामाङ, पत्रकार विमल दहाल र सानिमा बैक प्रबन्धक हिमा पराजुली रहनु भएको थियो।






























