स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता

0
3
मनाङ,
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या  हुने गरेको हो ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्मार्ट फोनको समयमा उहाँसँग स्मार्ट फोन नभएर होइन । उहाँ भन्नुहुन्छ, “स्मार्ट फोनको युग छ । फोन स्मार्ट भएर नहुने । मोबाइलको टावर नै टिप्दैन । अग्लो र कता टिप्छ भन्दै हिँड्न बाध्य छौँ । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । न त यो विकटमा यही टुकटुके नै उपयोगी छ ।”
मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई सास्ती भोग्नुपरेको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनुपर्ने बाध्यता रहेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या भोग्न बाध्य छन् ।
वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा नै सबैभन्दा बढी समस्या भोग्नुपर्ने बताउनुभयो । नेपाल टेलिकमको नमस्ते मोबाइलको ‘टुजी’ मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी ‘फोरजी’ बनाए स्थानीयलाई सुविधा पुग्ने उहाँको भनाइ छ । क्याङमा पनि ‘टेलिफोन’ सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
यहाँ ‘मोबाइल नेटवर्क’ मात्र होइन बिजुलीको पनि समस्या रहेको छ । ‘सोलार’मा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र ‘चार्ज’ नहुँदा समस्या हुने गरेको छ । यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेको वडाध्यक्ष लामाको जोड छ । राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै होइनन्, कर्मचारीलाई पनि हैरानी व्यहोर्नुपर्ने अवस्था छ ।
नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनको टावर नटिप्दा काम गर्न धेरै सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्छ । टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।” उहाँले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका नार्पाभूमि हो । उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख भोग्न बाध्यता छ । यहाँ हत्तपत्त कर्मचारी आउनै मान्दैनन् । काम गर्न पनि धेरै समस्या छ ।”
नार्पाभूमि – ४ कावडाध्यक्ष कर्मग्यान्जे लामाले मोबाइलको टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा कार्यालयमा पटक्कै टावर लाग्दैन जसले गर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन सम्पर्क गर्न सकिँदैन । वडामा मोबाइलको टावर छैन । वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने ?” नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताउनुभयो ।
यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता छ । कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नुपरेमा निकै समस्या हुने गर्दछ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोतेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्न बाध्य हुनुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन तर मोबाइलको टावर नभेटिँदा समस्या हुने गरेको छ  । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ । मोबाइलको टावर नै आउँदैन । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।”
मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या हुँदै आएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातर्फ भौँतारिनु परेको छ । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँचवटै वडाका स्थानीयलाई यस्तो समस्या छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here