जनअधिकार कमजोर नहोस्

0
5

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै अब पार्टी सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन् । बिर्तामोडको सिटी सेन्टरमा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले जनतामा माओवादी ‘क्रेज’ बढेको दाबी समेत गरे । तेस्रो पटक प्रधानमन्त्री भइसकेका दाहाल वर्तमान सरकारप्रति लक्षित गर्दै भ्रष्टाचारको फाइल खोल्न थालेपछि भ्रष्टाचारको सुइ बालकोट र बूढानिलकण्ठतर्फ तेर्सिएपछि तिनै दलहरुले नयाँ गठबन्धन निर्माण गरेको आरोप लगाए ।

राजनीतिकर्मीहरुले भन्ने गरेका छन्– राजनीति सम्भावनाको खेल हो । त्यसकै अनुशरण मुख्यगरी वर्तमानका ठूला भनिएका नेपाली कांग्रेस र एमाले अनुशरण गरिरहेका छन् । साँझसम्म सरकार बनाउने र भत्काउने उद्देश्यले ‘मुन्टो टार्दैनौं’ भन्ने दलका नेता त्यही रात समीकरण बदल्न र सत्तारुढ हुन पुगेका छन् । त्यसैले पनि माओवादी अध्यक्ष दाहालको भनाइ पनि कति दिगो हुन्छ भन्न सकिँदैन । मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका दाहालले जिल्ला तहका नेतालाई २०६४ सालमा आफ्नो पार्टीलाई मत दिने जनताको मनोविज्ञान बुझ्न सुझाएका छन् ।

हुन पनि राजनीति बलियो र समृद्ध व्यक्तिको मात्रै पहुँचमा पुगेको छ । त्यसैले मतदानमा आफ्नो पक्षमा मत ल्याउन त्यही बल र आर्थिक चलखेल निर्णायक पनि हुन्छ । यस्तोमा हामी कहाँ सत्तामै रहिरहने अभ्यास भइरहेको छ । त्यही शक्तिको आडमा पछिल्ला राजनीतिक परिवर्तनपछि भ्रष्टाचार गाउँ–गाउँ पुगेको छ यहाँसम्मकी सरकारकै अधिनमा रहेका जमिनदेखि ठूला–ठूला ठेक्काहरुमा व्यापक भ्रष्टाचार भएको घटना सार्वजनिक भएको छ । हुँदा–हुँदा नक्कली शरणार्थी बनाएर विदेश पठाउनेदेखि सहकारी ठगीसम्मका दुष्कृति यही समय देखियो ।

हुन पनि कुनै सरकारले जब–जब सुशासन, समृद्धि र सामाजिक न्यायका एजेण्डासहित भ्रष्टाचारको फाइल खोल्न थाल्छ, तब–तब सरकार परिवर्तन हुने नियति नै भइसकेको छ । यसले जनतालाई निराश बनाएको छ र दलप्रति विकर्षण बढेको छ । त्यसैले देशको जनता निर्णायक शक्ति भएकाले मतदानका समय गम्भीर र सचेत हुनैपर्छ । अन्यथा जनताका अपेक्षादेखि जनअधिकार स्वतः कमजोर भएर जानेछ । त्यतिबेला फेरि पनि पछुतो बाहेक केही रहने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here