छविराज ढकाल/ पथरिशनिश्चरे,
संविधान दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले आवास विहीन परिवारलाई घर हस्तान्तरण गरेको छ।
एक विशेष समारोहको आयोजना गर्दै संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा र नेपालको चुच्चे नक्सा आकारमा दीप प्रज्वलन गरी २० परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरेको हो।
कानेपोखरी -२ , प्रधान टोलमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति ईङ्नामले आर्थिक वर्ष २०८०/०८१ मा कूल १० वटा घर टहरा बनाई २० परिवारलाई सुरक्षित आवास निर्माण गरिदिएको बताउनुभयो ।विसं २०७८ मा नै तत्कालीन गाउँपालिका- नेतृत्वले करिव १ विगाहा जमिन खरीद गरेकाे स्थलमा १ करोड ३२ लाख रुपैयाँ बराबरको लागतमा आवास निर्माण गरी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।
सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोरङ क्षेत्र -२ का संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले कानेपोखरी गाउँपालिकाले हरेक वर्ष झैँ यस वर्ष पनि घरबार विहिन विपन्न परिवार छनौट गरी सुरक्षित आवास प्रदान गरेकोमा प्रशंसा गर्नु भएको थियो। उहाँले आफु संविधानको मस्यौदाकार समेत भएकाले वर्तमान नेपालको संविधानको मर्म र भावना अनुरुप नै कानेपोखरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित आवास आदि कार्यक्रमहरु संचालन भैरहेको देख्दा आफूलाई खुशी लागेको बताउनुभयो।
उहाँले कानेपोखरी गाउँपालिकामा रहेको विद्यमान सुकुम्बासी समस्या समाधानका लागि एक विशेष सुकुम्बासी आयोग बन्ने क्रममा रहेको र नागरिकता सम्वन्धी समस्या समाधानका लागि एक समिति बन्न लागेकोले हल हुने विश्वास ब्यक्त गर्नुभयो।
उहाँले विपन्न वर्गका नानीबाबुहरूको शिक्षाको आधार पालिका, प्रदेश र संघीय सरकारको दायित्व भएको औंल्याउँदै स्थानीय सडक, पुल र अधुरो खानेपानी परियोजना आदि आयोजनाहरू पालिकासंग एक भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो। स्कुल , अस्पताल, शिक्षा क्षेत्रलाई राजनीतिक पुर्वाग्रही भन्दा माथि उठेर भएर लाग्नुपर्ने र भ्रष्टाचार उन्मुलन तथा सुशासन संस्थागत गर्नुपर्ने धारणा राख्ननुभएको थियो।
उहाँले एनसेल, धितोपत्र वोर्ड, लगायतलाई कानुनी दायरामा ल्याउन लाग्दा केहिले आफूलाई विभिन्न झुटो आरोप लान्छना लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिरहेको भनी खेद प्रकट गर्नुभयो। उहाँले आफ्ना मतदाता जनताहरूले दिएको जिम्मेवारीलाई ईमानका साथ बहन गर्ने बताउनुभयो।
सोहि क्रममा उपाध्यक्ष भोलानाथ अधिकारी वर्षौदेखि लालपुर्जा विहीन जनताहरूलाई सुकुम्बासी समस्या समाधानका लागि संघीय सरकार समक्ष पहल गरिदिन अनुरोध गर्नुभयो। करिब १ हजार लालपुर्जा वितरण गर्न तयारी अवस्थामा राखिएका छन् । उच्चस्तरीय विशेष सुकुम्बासी समस्या आयोग निमार्ण भई भूमिहीनलाई लालपुर्जा प्रदान गर्न राज्यले भूमिहीन तथा सुकुम्बासी आयोग बनाउनुपर्ने भनाई राख्नुभयो ।
। सोहि अवसरमा कानेपोखरी गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले , भुमिहीन सुकुम्बासी समस्या, नागरिकता र स्थानीय विकास निर्माणका कामहरुमा प्रदेश र संघीय सरकारले विशेष सहयोग गर्नुपर्ने माग गर्नुभएको थियो।
गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्नामको अध्यक्षतामा सम्पन्न भएको सो समारोहमा विगतमा निकै ठूलो सामाजिक योगदान पुर्याउनु हुने विभिन्न पाँच व्यक्तित्वहरुलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
उक्त अवसरमा पालिकाको प्रमुख शासकीय अधिकृत हिरा कुमारी यादव लगायतको उपस्थितिमा विभिन्न सांस्कृतिक नृत्यहरू तथा नृत्य तथा विभिन्न जातिहरूको सांस्कृतिक नृत्यहरू प्रस्तुत भएका थिए।