माग्नेहरुका कारण विश्व समुदाय नै आजित छ । समृद्ध देश होस् वा विकासशील जहाँ पनि यसले विभिन्न समस्या निम्त्याइरहेको छ । मुख्यतः दक्षिण एशियाका देशहरुमा माग्नेजन्य समस्याले समाज आक्रान्त भइरहेको भुक्तभोगीले समेत बताउने गरेका छन् । पछिल्लो समय नेपालमा पनि मगन्तेहरुको बिगबिगी बढेको छ । त्यसकै दृष्टान्त हो झापाको शनिश्चरे बजारमा देखिएको माग्नेहरुको बाक्लो उपस्थिति । त्यहाँ भारतीय मूलका मगन्तेहरु झण्डै स्थायी रुपमै बस्दै आएका छन् । तिनले हाटबजारमा आउने र स्थानीय पसलहरुमा मागेरै प्रति महिना लाखौं रुपैयाँ उनीहरुको देश पठाउने गरेका छन् । माग्ने कामलाई पेशा नै बनाएका उनीहरुका कारण अव्यवस्था बढ्न सक्ने भन्दै स्थानीयले स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
माग्नेहरुका कारण शहर बजारको शोभामा आँच आउने त छदैछ, त्यसबाहेक चोरी, लुटपाट जस्ता घटना बढ्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । यसले समाजमा हिंसा, दुराचार बढ्नुका साथै अनेकन सामाजिक समस्या पनि सृजना हुन्छन् । त्यहीकारण पञ्चायती शासन कालमा सरकारले सार्वजनिक सूचना जारी गर्दै मगन्तेहरुलाई पैसा वा अन्न नदिन भन्दै सर्वसाधारणलाई सचेत गराइएको थियो । हुन पनि आजभोलि सडकमा, सार्वजनिक सवारीसाधनमा र पसलहरुमा जबर्जस्ती माग्दै हिँड्ने समूहबाट सबै दिक्क भइसकेका छन् । यसले समाजको प्रतिष्ठामै नकारात्मक छवि निर्माण हुन्छ । यस्तो माग्दै हिँड्ने कार्यमा बालबालिका, अशक्त तथा महिलालाई प्रयोग गरेर यसैलाई पेशा बनाएर आम्दानी गर्ने गिरोह सक्रिय रहेको छ । यस्तै समस्या बढेर गएपछि दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कडाइका साथ नियन्त्रण गरेको थियो । महानगरपालिकाले सडक, गल्ली, पार्क, सवारीसाधान र बस बिसौनी स्थल, कार्यालय परिसरमा माग्न प्रतिबन्ध लगाएको थियो । माग्नेका कारण सर्वसाधारणले भोग्नु परेको हैरानीको अन्त्य गरी सुसभ्य शहर निर्माण गर्ने महानगरको कार्य प्रशंसनीय छ र सकारात्मक पनि छ।
भारतीय मूलका मगन्तेलाई उपत्यका बाहिर पठाउने कार्य अभियानका रुपमा चलाउने महानगरको कार्य अन्यत्र पनि अनुशरण गर्नुपर्ने भएको छ । नक्कली कागज बनाएर, वृद्धवृद्धा, बालबालिका र महिलाहरुलाई प्रयोग गर्दै माग्नुलाई व्यवसाय बनाउने गिरोहको अन्त्य गर्न खासगरी तराई र उपत्यकाका सबै स्थानीय सरकार लाग्नु पर्दछ । साथै नियन्त्रण कार्यको निरन्तर अनुगमन र निरीक्षण गरिरहनु पर्दछ । हिजोआज त अझ आफूलाई तेस्रो लिङ्गी भन्ने व्यक्तिको समूह पनि जबर्जस्ती पैसा उठाउँदै हिँड्न थालेका देखिन्छन् । एक–दुई वर्षदेखि बजार क्षेत्रमा बढ्दै गएको यस्तो प्रवृत्तिलाई रोक्न सीमामै सुरक्षा व्यवस्था कडा गर्नुपर्दछ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्न पनि स्थानीय सरकारले स्थानीय संघ–संस्थासँग समेत सहकार्य गर्दै अघि बढ्नु पर्दछ । आफ्नो देशमै जीवन निर्वाह गर्न कठिन भई माग्न बाध्य भएकाहरुलाई संरक्षण गर्दै विकल्प तयार गरिदिनु पर्दछ । त्यसका लागि सबै जिम्मेवार निकायको सहकार्य आवश्यक हुने हुँदा सर्वसाधारणले समेत पैसा नदिएर सरकारलाई सहयोग गर्नुपर्छ । यसले मात्र माग्नेको हैरानीबाट मुक्त हुन सकिन्छ ।