आयुः कर्म च वित्तं च विद्या निधनमेव च ।
पञ्चै तानी हि सृज्यन्ते गर्भस्थ स्यैव देहिन ।।
– चाणक्य नीति दर्पण
(आयु, बल, कर्म, धन, विद्या र मरण यी पाँचै चीज जब जीव गर्भमा आउँछ त्यतिखेर नै लेखि दिएको हुन्छ ।) अर्थात् माथि उल्लेखित पाँचै चीज गर्भदेखि नै आउन कुरा हुन भनेर उल्लेख गरिएको छ । यो शास्त्रको कुरा हो । यसलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा पाठकको आ–आप्mनै बुझाइ वा धारणामा भर पर्दछ ।
यस जगतमा उत्पत्ति भएका प्रायः सबै प्रकारका प्राणीहरुले आ–आफ्नै प्रकृतिका सन्तानहरु उत्पादन गर्दछन् । सन्तान उत्पादनमा वंशाणु वा पुख्र्यौली गुणहरु कायम भएको हुन्छ । यसको अर्थ वंशाणु गुणभित्र– ‘जस्तो आमा बाबु उस्तै छोराछोरी’ भन्ने मान्यता रहेको पाइन्छ । यसर्थ सबै प्राणीका बच्चाले गर्भाधारणको समयमा नै वंशानुगत गुण सुनिश्चित गरेका हुन्छन् । यसप्रकारको गुण मानव जातिमा पनि लागू हुन्छ । सामान्यतयाः मानवको विकास गर्भाधारणदेखि नै शुरु भए तापनि वास्तविक विकास भने जन्मपश्चात हुने गर्दछ । गर्भाधारण भएको अवस्थामा सानो भू्रणका रुपमा रहेको प्राणी बिस्तारै–बिस्तारै बढ्दै गएर नौ महिना पश्चात सिङ्गो मानवका रुपमा जन्मन्छ ।
मानवका रुपमा जन्मिएको एउटा बालक यसपछिका दिनमा नवजात अवस्था, शैशव अवस्था, प्रारम्भिक बाल्यावस्था, उत्तरवाल्यावस्था, युवा अवस्था, किशोरावस्था हुँदै क्रमशः मानव जीवनको अन्तिम अवस्थाका रुपमा परिचित वृद्ध अवस्थामा प्रवेश गर्दछ । यसप्रकार जन्मपश्चात एक अवस्थाबाट अर्को अवस्थाका बीचमा आउने परिवर्तनलाई छुट्याउने मानव अवस्थाका विभिन्न आधार, गुण र लक्षणहरु हुन्छन् । तिनै गुण र लक्षणका आधारमा मानिसमा भएको विकास क्रमको अवस्थाका बारेमा बुझ्न सकिन्छ । यही विकासका चरणका आधारमा मानिसमा परिपक्वता पनि प्राप्त हुँदै जान्छ । परिपक्वता मानव जीवनको एउटा जैविक प्रक्रिया हो । यो उमेर अनुसार प्राप्त हुँदै जान्छ । जसलाई अनुभव वा बौद्धिक क्षमताका रुपमा पनि पहिचान गर्न सकिन्छ । अतः परिपक्वता मानव जीवनका लागि अति आवश्यकीय तत्व पनि हो ।
मानव जीवनमा विशेषगरी वृद्धि र विकास यी दुबै तत्वले प्रभाव पारेको हुन्छ । सामान्य अर्थमा व्यक्तिका शारीरिक आकार तथा संरचनामा देखापर्ने परिवर्तनलाई मानव वृद्धिका रुपमा बुझन सक्छौ । वृद्धि निश्चित अवधिसम्म मात्र हुन्छ । जसलाई सङ्ख्यात्मक परिवर्तनका रुपमा व्याख्या गर्न सकिन्छ । तर, विकास भन्ना साथ शारीरिक वृद्धि अनुरुप मानिसमा हुने संवेगात्मक विकास, भाषागत विकास, नैतिक विकास, सामाजिक, सांस्कृतिक, बौद्धिक, शैक्षिक आदिका क्षेत्रमा भएका विकास भन्ने बुझिन्छ । अझ स्पष्टरुपमा भन्नुपर्दा उक्त विकासका क्षेत्रमा भएको सकरात्मक परिवर्तनलाई मानव विकास भन्न सकिन्छ । विकासको वृद्धिको जस्तो निश्चित अवधि हुँदैन । विकास कोक्राबाट शुरुवात भएरजीवन पर्यन्त चलिरहन्छ । विकासलाई गुणात्मक परिवर्तनका रुपमा लिने गरिन्छ । विकास र वृद्धि सँगसँगै मानव परिपक्व पनि हुँदै जान्छ । परिपक्वता मानव वृद्धि र विकासको नियमित प्रक्रियाभित्र पर्दछ ।
माथि उल्लेख गरिएका मानवका बिभिन्न अवस्थाको मुख्य चुरो भनेको मानिस जन्मेदेखि बालक, युवा, वयस्क हँुदै बुढ्यौलीमा प्रवेश गर्दछ । बुढ्यौली उमेर भनेको बुढो हुनु वा वृद्धायुमा प्रवेश गर्नु हो । वृद्धावस्था भनेको मानव जीवनको उत्तराद्र्ध र अशक्त र अन्तिम अवस्था हो । जुन समयमा मानवमा भएका शक्तिहरु क्रमशः क्षीण हुने, रोग, शोक, पीडा आदि जस्ता कष्टकर अवस्था झेल्दै अन्ततः एकदिन यो माया वा मोहरुपी संसार त्यागेर सर्वाेच्चलोक तर्फ जाने हो । यसबाट के पुष्टी हुन्छ भने वृद्धावस्था जीवनको अन्तिम अवस्था हो । यो प्राकृतिक नियम नै हो । यसकारण कसैले चाहेर पनि यो क्रमलाई रोक्न सकिँदैन । उमेरका हिसाबले सामान्यतयाः ६० वर्ष उमेर पुगेपछि मानव वृद्धा अवस्थामा प्रवेश गरेको मानिन्छ । नेपालमा ज्येष्ठ नागरिक ऐन २०६३, र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५, अनुसार ६० वर्ष वा सो भन्दा माथिको उमेर वृद्ध वा ज्येष्ठ नागरिकको उमेर समूहमा राखि परिभाषित गरेको पाइन्छ । विश्वका केही मुलुकले ६५ वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिकका रुपमा राखेको पाइन्छ भने संयुक्त राष्ट्रसंघले ६० वर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई ज्येष्ठ नागरिका रुपमा राखेको पाइन्छ ।
नेपालमा रहेका बिभिन्न सेवा वा समूहमा रहेका राष्ट्रसेवकलाई सेवापश्चात दिइने अनिवार्य अवकाशको उमेर भिन्न–भिन्न समूहका आधार दिएको पाइन्छ । उदाहरणका लागि निजामति सेवामा ५८ वर्ष, शिक्षण सेवामा ६० वर्ष, विश्वविद्यालय सेवामा ६३ वर्ष र न्यायसेवामा ६५ वर्षको उमेर हद राखिएको पाइन्छ । यसैगरी राज्यबाट दिइने सामाजिक सुरक्षाबापतको भत्ता वा पेन्सनको लागि भने ७५ वर्ष उमेरलाई कायम गरिएको छ । सेवा वा सुरक्षाभत्ताको लागि तोकिएको उमेर अलग–अलग भए पनि विषेशगरी ६० वर्षदेखि मृत्यु न होइञ्जेलसम्मको अवधिलाई वृद्ध अवस्था मानिन्छ । यो अवस्था भनेको शारीरिक र मानसिक दुबै पक्षबाट दिन प्रतिदिन शिथिल हुने अवस्था हो । यस अवस्थालाई पनि पूर्व वृद्धावस्था (६०–७० वर्ष) र वयोवृद्ध अवस्था (७० वर्ष माथि मृत्युपर्यन्त) गरी दुई भागमा बाँडिएको पाइन्छ । यिनै कुराको आधारमा नेपालमा ६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिकका रुपमा परिभाषित गरेको पाइन्छ । वृद्धावस्था एक गिर्दौ अवस्था पनि हो । पुस्तौनी फरक भएका कारणले यस अवस्थामा रहेका वृद्धवृद्धाहरुलाई आफ्नै परिवारभित्रका छोरा–बुहारी तथा नातिनातिनासँग समाोजन हुन गाह्रो परिरहेको हुन्छ ।
ज्येष्ठ नागरिक भनेका समाजका गहना हुन् । विगतमा लेखिएका इतिहासका स्रोत हुन् । साथै खुल्ला किताबका पाना पनि हुन् । हामी इतिहासका पिता हेरोटोडसलाई मान्दछौं । कारण उनले इतिहासको पनि इतिहास लेखे । त्यो इतिहास एउटा यौद्धा जो रणभूमिमा थियो, उसले देखेको, भोगेको र जानेको कुरालार्ई गोडमेल गर्दै वा प्रत्यक्षदर्शीबाट आएका कुरालाई विश्लेषण र व्याख्या गर्दै एउटा इतिहासकारले पूर्णता दिने कार्य गर्दछ । यी कार्य गर्ने अवसर हेरोटोडसले उनै ज्येष्ठ नागरिकबाट वा पूर्वजहरुबाट प्राप्त गरे । त्यसैले ज्येष्ठ नागरिक भनेका पुस्तकालय पनि हुन । उनीहरुको मृत्युसँगै पुस्तकालयको पनि अन्त्य हुन्छ । ज्येष्ठ नागरिक ज्ञानका भण्डार, सिप र अनुभवका खानी पनि हुन् । जसको उपयोगले मात्र हाम्रो विगतको इतिहास स्पष्ट र तथ्यपूर्ण भएर हाम्रोसामु आउँछ । तब मात्र हामी त्यही इतिहासको स्रोत समेत उल्लेख गरी निर्माण गर्दछौं ।
नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । मानिसले गर्ने कामको प्रत्यक्ष असर उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । मानिस स्वास्थ्य रहेको अवस्थामा मात्र उसको काम गर्ने क्षमता राम्रो हुन्छ । हामी अधिकांश नेपालीहरु विशेषगरी कुनै पनि रोग लाग्नुभन्दा अघि उक्त रोग लाग्ने परिस्थितिलाई आँकलन गर्न सक्दैनौं । जसले गर्दा रोग लाग्नु पूर्व जुन सर्तकता अपनाउनुपर्ने हो त्यो समयमा नै गर्न सकिरहेको हँुदैनौ । फलस्वरुप हामी रोगबाट पीडित भइसकेपछि मात्र रोगबाट मुक्त हुनका लागि प्रयास गर्दछौं । यस अवस्थामा गर्नुपर्ने उपचारात्मक स्वास्थ्य सेवा पनि निकै खर्चिलो भएको हुन्छ । जुन हाम्रो पहँुचभन्दा बाहिर पुिगसकेको हुन्छ । हाल नेपालको सन्दर्भमा बृद्ध अवस्थाका मानिसलाई सरकारले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । जुन कार्यक्रमले आमनागरिकलाई बिरामी पर्दा राज्यले आर्थिक सुरक्षा प्रदान गर्छ भन्ने अवधारणाको विकास गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमले व्यक्तिलाई स्वस्थ रहन प्रेरित र सहयोग पनि गर्दछ । तर, राज्यले उपलब्ध गराएको बीमाको रकमबाट हाम्रा दीर्घरोगीका रुपमा परिणत भइसकेका वृद्ध–वृद्धाहरु जो शारीरिकरुपमा पूर्ण अशक्त भइसकेका हुन्छन् । उनीहरुलाई बीमा वापत उपलब्ध गराईको रकमले पुग्ने अवस्था छ÷छैन ? भन्ने कुरा पनि आजका दिनमा खड्किएको अवस्था छ । किनभने आजको उपचार पद्दति र पीडितको आयआर्जनका बीचमा आकाश र जमिनको अन्तर छ । यसअर्थमा बीमाको सुविधा केबल सामान्य रोगका लागि मात्र हो । रोग लाग्नुभन्दा अघिको रोेग प्रतिकारात्मक स्वास्थ्य सेवाको लागि मात्र हो । रोगबाट पीडित भइसकेपछिको अवस्था वा उपचारात्मक स्वास्थ्य सेवाका लागि होइन । हाम्रो नेपाली समाज जसको आयआर्जन सामान्य छ, उनीहरुका लागि बीमा बापत प्राप्त यो रकम दुर्लभ पनि हुन सक्छन् । वस्तुपरक पनि छन् र यथार्थ पनि हुन् । तर, सन्तुष्टी रहने अवस्था भने छैन । त्यसैगरी कडाखालका लागि उपलब्ध गराइने सुबिधाबापतको रकम पनि । तर, बाँच्नका लागि दिइएको यो सुबिधाले राहत भने दिन्छ ।
अब उपचार विधितर्फ पनि हेरौ । ज्येष्ठ नागरिकका चाहना र डाक्टरहरुको उपचारको क्रमको व्यवहारलाई आधारमान्दा उनीहरु दुबै पक्षका बीचमा ठूलो अन्तर पाइन्छ । उमेरका हिसाबले चाउरी परेका, रौँ फूलेका, दाँत झरेका, शिथिल भएका ज्येष्ठ नागरिकहरु जो अब कष्टपूर्ण जीवनयापन गर्नुभन्दा बरु मर्न पाए हुन्थ्यो भन्ने सोचाइमा पुगेका हुन्छन् । उनीहरुलाई मर्नदेखि खासै डर नभएको जस्तो अनुभव हामीले गरेका हुन्छौं । शिथिल र कमजोर शारीरिक अवस्थाका कारणले परिवारमा समायोजन हुन कठिन भइरहेको अवस्थामा परनिर्भर पनि हुुनु परेपछि आफू परिवारका लागि एउटा बोझ मात्र भएको महशुस उनीहरुले गर्न थालेका हुन्छन् । यसका साथै मृत्यु निश्चित छ र त्यसको नजिक हामी पुग्न लागेका छौं भन्ने धारणाले पनि उनीहरुलाई गहिरो प्रभाव पारेको हुन्छ । अझ उनीहरुमा आफ्नै घर दलानमा, आफ्नै परिवारजनका सामनेमा देहत्याग गर्न पाए हुन्थ्यो भन्ने उच्च इच्छा र अभिलाषा हुन्छ । तर, सामाजिक लोक लाजले पनि हामी अन्तिम अवस्थामा पुगेका हाम्रा अभिभावकलाई माया ममतासहित अस्पताल पु¥याउन बाध्य हुन्छौ । सास रहेसम्म आश पनि रहन्छ । जब हामी अस्पताल पु¥याउँछौं । त्यसपछि परीक्षण हुन्छ । विभिन्न टेस्ट वा परीक्षणका साथै आइसियुको कुरा आउँछ । भेन्टीलेटरको कुरा आउँछ । यी कुरा आउना साथै उपचारमा संलग्न परिवारका सदस्यलाई अर्को पीडा थपिन्छ । खर्च कसरी जुटाउने । सामान्य आर्जनले पुग्दैन । बिरामी अस्पताल बस्न रुचाइरहेको हुँदैन । फेरि आइसियु र भेन्टिलेटरको नाममा परिवारजनबाट बिरामीलाई पूर्णरुपमा अलग गरिन्छ । एउटा कुरा भन्नै पर्छ । हामीले विगतमा भोगेको तीतो अनुभव पनि हामीसँग छ ।
कोभिड–१९ वा कोरोना भाइरसको महामारी, जुनबेला आइसोलेसनका नाममा परिवारबाट अलग गरिएका धेरै बिरामीले अकालमै ज्यान गुमाएका थिए । यसको लेखाजोखा भएको छैन । तर, तत्कालीन अवस्थाका पीडित परिवारका भनाइ, भोगाइ र अनुभव लिएर लेखाजोखा गर्ने हो भने यी तथ्यहरु बाहिर आउँछन् । त्यसैले लेखाजोखा चाहिँ गरिनु पर्दथ्यो । आज पनि इन्फेक्सनका नाममा आइसियु तथा भेन्टिलेटरमा अन्तिम अवस्थामा रहेका बिरामीलाई परिवारको रेखदेखबाट अलग गरिनु भनेको माथि उल्लेख गरे झैँ घर दलानमा परिवारका साथ मृत्युवरण गर्न चाहने वृद्ध अवस्थाका मानिसहरुको भावनालाई परिवारका सदस्यका साथै उपचारमा संलग्न चिकित्सकले पनि बुझ्न नसकेका ेजस्तो देखिन्छ । यो तथ्यलाई उपचारमा संलग्न स्वयम् चिकित्सकले पनि नबुझेका भने छैनन् । आचार संहिता होला । उनीहरुको पनि बाध्यता होला । भनिन्छ, चिकित्सक तथा उपचारसेवामा रहेका नर्सहरु भनेका भगवान हुन् ।
कारण एउटा मानव जसले जिउनका लागि जीवन मागिरहेको हुन्छ । त्यही जीवनले जिउन सकोस भन्नका लागि चिकित्सक तथा नर्सहरु अहोरात्र खटेर लागि परेका हुन्छन् । तर, पनि हामी कहीँ न कहीँ चुकी रहेको हुन सक्छांै । बिरामीका पीडाका अघि हामी नतमस्तक हुन सक्छौं । उसको अन्तिम इच्छा भनेको घर दलान हो भन्ने कुरालई आंकलन गरिरहेका हुँदैनौ । जब बिरामी बेहोस हुन्छ । अकै संसारको बाटो समाती सकेको हुन्छ । अनि मात्र दशदान गर्ने, पविारजनसँग भेट गराउने भनेर अक्सिजनका नाममा नत्थी लगाएर घरमा लान्छौ । जुनबेला गाउँ समाज छरछिमेकमा फलानो त बितिसकेर ल्याउँदैछन् अरे भनेर एकअर्कामा खबर गरिरहेका हुन्छन् । समाजको सामु औपचारिकताका लागि दशदान गर्दैछन् अरे भनेको सुन्दछौ । त्यसबेला लाग्छ, ती वृद्ध–वृद्धा जो घरबाट नै अस्पताल जान गाह्रो मानिरहेका थिए । जबरजस्ती परिवारका सदस्यले अस्पताल लगेका हुन्छन् ।
फेरि अस्पतालले पनि बिरामीको अवस्था अब ठीक छैन भन्ने पहिचान गरिसकेपछि माथि भने झैँ भेन्टिलेटर र आइसियु भन्नुभन्दा पनि बिरामीको पीडा कम गर्ने उपचार विधि अपनाएर वृद्ध–वृद्धाको चाहना अनुरुप कार्य गरिदिए हुन्थ्यो जस्तो जो–कोहीलाई लाग्छ । वृद्ध–वृद्धाहरु एकोहोरो र जिद्दी स्वभावका हुन्छन् । उनीहरु परम्परागतका कुरामा बढी विश्वास गर्ने र अतितका घटनामा रमाउने प्रकृतिका हुन्छन् । आफूले भने अनुसारको हुनै पर्ने जस्ता पक्षमा रहने उनीहरुको चाहना हामीले बुझ्न सकेनौ भने परिवारको सदस्य होस वा उपचारमा संलग्न चिकित्सक होस् वृद्ध–वृद्धाको नजरमा खाली काख (सन्तानविहीन)को रुपमा आफूलाई बुझ्न सक्छन् । यसर्थ, हामीले वृद्ध–वृद्धा अवस्थामा पुगेका हाम्रा समाजका ज्येष्ठ नागरिकको उपचारमा संलग्न भइरहँदा उनीहरुको इच्छा र चाहनालाई पनि बुझ्न सक्नु पर्दछ ।