हाम्रो परीक्षा र परदेशीको प्रविधि समन्वय छ ?

0
19

शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मापन केन्द्र बनेको आवधिक परीक्षा प्रणाली आजका बालबालिकाको स्तरोन्नतिको मुख्य स्रोत तथा योग्यतामापनको दर्पण भएको छ । शिक्षाको शुरुवाती अवस्थामामा अध्ययनलाई पहिलो आधार मानिएको भएतापनि आजको आधुनिक शिक्षाले वास्तवमा विद्यार्थीको योग्यता उसको परीक्षाबाट प्राप्त कागजात को आधारमा आँक्ने गरिएको छ । उपाधिहरू पनि त्यही शैक्षिक धारमा टेकेर विभागबाट हस्तान्तरण गरिने भएको हुँदा वास्तवमा परीक्षा प्रणाली र परीक्षाका लागि तोकिएको छोटो अवधि नै विद्यार्थीको जीवनको उच्च तह निर्माण र क्षमता प्रस्तुतीको मुख्य आधार बनेको छ । विश्वभरि छरिएर रहेका विद्यालयहरू र विश्वविद्यालयहरू जुनसुकै अवस्थामा रहुन् ती सबैले शैक्षिक गुणस्तर मापनलाई कुनै न कुनै प्रकारको निश्चित अवधि र तालिकामा रहेको परीक्षण पद्धतिलाई नै मानेका छन् ।

विषयको विशिष्टतालाई दरिलो बनाउने हेतुले विश्वका केही विश्वविद्यालयहरूले विशिष्टीकृत शैक्षिक पद्धति प्रयोग गरेको पाइन्छ भने ती केही विद्यालयहरुले विषयको समग्रतालाई सम्बोधन गर्ने गरी शिक्षाको कोर्ष तयार गरेको पाइन्छ । आज चाहे संस्कृत शिक्षाका विश्वविद्यालयहरू हुन् या आधुनिक अंग्रेजी शिक्षाका विश्वविद्यालयहरू हुन् वा तहका बोर्डहरु सबैले आफ्नो करिकुलम बनाएर धेरैभन्दा धेरै विषय समाविष्ट गरेर परीक्षाहरू व्यवस्थापन गर्दछन् । शिशु कक्षादेखि विश्वविद्यालयका अन्तिम कक्षाहरूसम्मको अध्ययनमा तालिका अनुसार आवधिक परीक्षा प्रणाली सबैभन्दा शक्तिशाली परीक्षा प्रणालीको रूपमा आजको दिनमा विश्वभरि स्थापित छ । यो परीक्षा प्रणालीमा केही तहलाई महŒवका साथमा हेरेर त्यो तह पार गर्नेलाई एउटा सामान्य विशिष्टताको रुपमा समाजले मान्ने गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा मेट्रिकुलेसनसम्मको एक्जामलाई मूलतः दुई भागमा विभाजित गरेको छ । तथापि कक्षा १२ को परीक्षाभन्दा पहिले कक्षा १० मा लिइने परीक्षालाई निकै ठूलो महŒका साथ हेर्ने प्रवृत्ति रहँदै आएको छ । कक्षा १० को नतिजा जब आशा गरेभन्दा कमजोर बन्छ तत्पश्चात केही विद्वानहरु, विशेषज्ञता हासिल गरे झंै गरेकाहरु र ओहोदामा बसेकाहरु ज्ञानीशैलीले प्रस्तुत हुने गर्दछन् । किनकि उनीहरूलाई मिडियाले स्थान दिने गर्दछ । विश्लेषकको रूपमा विश्लेषण गर्ने, आफूलाई अन्तर्राष्ट्रिय ज्ञाताको रूपमा राखेर तर्क प्रस्तुत गर्नेहरु कतै शिक्षकको कमी–कमजोरी मात्र प्रस्तुत गर्ने, कतै विद्यार्थीको कमी–कमजोरी प्रस्तुत गर्ने, कतै सिलेबसको कमी कमजोरी प्रस्तुत गर्ने, कतै–कतै राजनीतिक कारणले गर्दा आदि इत्यादि बहसका विषयहरु बन्ने गर्दछन् ।

धेरै विद्वानहरु या मिडियाले स्पेस दिएकाहरूको एनालाइसिस वा विश्लेषण सुन्ने अवसर कहिलेकाहीँ पाउँदा क ख चिनेको एउटा व्यक्ति भएकाले पंक्तिकार स्वयम् पनि यत्रतत्र, यदाकदा ठूलाका बोलीमा आकर्षित हुने गर्दछ । विश्लेषणको सिलसिलामा कति उत्कृष्ट व्यक्तिहरू हुँ भन्नेहरूले भूमिलाई बुझेर हो कि भुजालाई चिनेर हो तर्कहरु राख्ने गर्नुहुन्छ । उहाँहरुको भनाइ हुन्छ कि विद्यार्थीहरूले सुनेर सिक्छन्, पढेर सिक्छन्, कोही कोही हेरेर सिक्छन् आदि कुरा प्रस्तुत हुने गर्छ, यो बुझेकै सामान्य सत्य हो । हेरेर, सुनेर, पढेर जान्नु पर्छ, जान्दछ, तर त्यसको परिधि आ–आफ्नोखालको हुन्छ भन्ने तर्फ चाहिँ बुझाउन र बुझ्न खोजेको पाइँदैन ।

हामीले सामान्य नियम पनि बुझ्न सकेका छैनौं । किनकि उमालेर पानी खानु भनेर वैद्यबाट वा डाक्टरबाट वा अनुभवीबाट दिएको निर्देशन वास्तवमा स्वास्थ्य सुधारका लागि अति आवश्यक छ । सत्य पनि हो । तर, उमालेर खानु भनेको पानी उमालेर फेरि सेलाएर खान सकिने बनाएर खाने हो कि उमाल्ने र खाइहाल्ने हो यो बुझ्नु जरुरी छ । उमालेर तातोपानी खाँदा मुखको नियम पालना गर्नुपर्छ । जसरी त्यसरी नै परीक्षा हल सुधार नगरेसम्म र परीक्षा प्रणाली आवधिक अनि सेन्ट्रलाइज रहुञ्जेलसम्म साथै परीक्षा उत्तीर्ण हुनका लागि अनिवार्य रूपले शुद्धाशुद्धिसहित लेख्नु नै पर्ने प्रणाली रहुञ्जेलसम्म रटेर हरेक अक्षरको दीर्घ रस्वसम्म तयार नगरे उत्तरपुस्तिकामा के लेख्ने यो चाहिँ बुझ्नैपर्ने महŒवपूर्ण कुरा छ । कपी परीक्षणमा शुद्धाशुद्धिसहित हेर्ने अनि प्रश्नोत्तर विधिबाट नै सुनेकै भरमा जान्दछ भन्ने प्रवृत्तिले नै आज शैक्षिक गुणस्तर खस्किएको हो ।धेरै अनुभवी हुँ भन्नेहरू या उपाधि लिएकाहरू आफू चाहिँ जन्मँदै वेदव्यास भए झैं सक्रिय देखिन्छन् । ‘बालक बाबु हुँदैन बाबु भएपछि बालक हुँदैन’ भन्ने कुरा बुझ्नु जरुरी छ किनकि तपाईं बाबु भएर आएको ज्ञान हो, बालक हुँदा रटेकै हो तपाईंले बिर्सिनु किन ? अब परिवर्तन गर्नुपर्छ, अब प्रविधिमा प्रवेश गर्नुपर्छ, सुनेर सिक्छन्, अब रटेर होइन जस्ता कुरा तत्कालका लागि परिपक्व हुँदैन ।

हाम्रो परीक्षा प्रणाली सुनेर सिकेर जीवनमा पास नहुने परीक्षा प्रणालीमा छौँ भन्ने कुरा विज्ञ हुँ भनेर भन्नेहरूले बुझेको पाइँदैन । सुनेर सिकिन्छ यो सत्य हो । यो इतिहासको कालखण्डको भाषाको शुरुवातदेखि नै आएको कुरा हो । पढ्न त हिजो अस्तिसम्म पनि थोरैले मात्र पढेका थिए । तर, बढेसँगै सुनेर सिक्थे, सिक्ने सबैले गर्छन्, मानवले मात्र होइन । तर, सुनेर सिकेकालाई कसरी परीक्षा लिने त्यो चाहिँ हामीले शुरु ग¥यौ त ? सुनेर सिकिन्छ पढ्नु पर्दैन, नपढी पनि जान्ने भए मानिसहरु नपढीकन पनि विश्वमा फलानो यस्तो भयो, उस्तो भयो, त्यस्तो भयो, भनेर जाने बुझेका सबै उगेल्ने गर्छन् । पढाइलाई उच्चकोटीमा लानका लागि पढ्नु नै पर्छ । परीक्षा प्रणालीलाई जित्नका लागि शुद्धाशुद्धि मिलाएर लेख्नु नै पर्छ भन्नेतर्फ नबुझाई अर्को तर्फबाट परिभाषा गर्दै अगाडि बढ्दा हाम्रो अहिलेको धेरै सम्पत्ति भएको थोरै सन्तति भएको समाज निकै कमजोर बन्नेतर्फ लागेको छ । यसमा हिजो रटेर उपाधि लिएकाहरूले रट्नै पर्दैन भनेर बिगारेका धेरै छन् ।

रट्नै पर्दैन, सुनेकै भरमा हुन्छ भने त्यो नरट्ने कक्षाको विद्यार्थी, सुनेर जान्दछ तर परिणाम फेल छ, किन ? ऊ पनि त विद्यार्थी हो नि त्यसलाई चाहिँ फोर जीपीए दिने वातावरण किन बनाउनुहुन्न ? एउटा बिर्सिनु नहुने सत्य हो । ध्यानपूर्वक सबैले चासो राखौं । आदरणीय अभिभावकले, स्वयम् बालकले र नीति–निर्माताले अनि धेरै पढेका हुँ भन्ने ले पनि कि सुनेर जानेकाबाट लेखेर परीक्षा हुँदैन । हाम्रा आमा हजुरआमाहरू हिजोका समयमा सुनेर सबैथोक पुराणहरू नै जान्नुहुन्थ्यो । तर, हामीले उहाँहरुलाई कुनै पनि आधुनिक सर्टिफिकेट किन दिनसकेनौं यो सोच्नु पर्दैन ? उहाँले पनिअहिले मिडियामा भन्नेभन्दा कमजोर व्यवहार गर्नुभएन समाजमा र परिवारमा । उहाँले सर्टिफिकेट नपाउनुको एउटै मात्रै कारण रह्यो लिखित परीक्षामा परीक्षा प्रणालीले तोकेको मापदण्ड पूरा गर्न सक्नुभएन या प्रवेशै गर्नुभएन, तर ज्ञान त थियो, सुनेर त जानेको थियो त । आधुनिक सर्टिफिकेट लिनका लागि त्यो आधुनिक सर्टिफिकेट प्राप्त गर्नका लागि तोकिएको मापदण्ड लिखित परीक्षा हो उत्तीर्ण गर्नुपर्छ कि पर्दैन ?

पृथ्वीको इतिहासका शुरुका कालखण्डदेखि नै सुनेर जानेका मान्छे पूर्णरूपले सबल थिए र धेरै संस्कार, संस्कृति परम्परा अलिखित रुपमा उत्तराधिकारीमा हस्तान्तरण हुँदै आयो । उनीहरूले हस्तान्तरण गर्दै अगाडि बढे, तर जब आधुनिक शिक्षा प्रणाली विकास भयो त्यहाँबाट उनीहरु कमजोर भए र उनीहरूलाई इलिटरेट, अशिक्षित आदि शब्दबाट सम्बोधन गरेको कुरा अब लुक्छ र ? यो परीक्षा प्रणालीलाई अंगालेकाहरुले विश्वको शैक्षिक बागडोर क्याप्चर गरे । जसले चलाएर आएका थिए उनीहरूलाई बिलय गराउन सबल बनेको कुरा आज तपाईं हामी माझ स्पष्ट छैन ?

शिक्षा वास्तवमा अध्ययनद्वारा मात्र सम्भव हुन्छ । किताबबाट प्राप्त ज्ञान प्रस्तुत गर्नका लागि व्यक्तिसँग शब्द व्यवस्थापन अनिवार्य हुनुपर्छ । ज–जसले सुनेर जाने उनीहरू प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन सक्छन् । तर, परीक्षाको लिखित प्रणालीमा सहभागी हुन सक्दैनन् । लिखित परीक्षामा सहभागी भए पनि उनीहरुबाट लेखिएको परीक्षा प्रणालीमा मान्य हुनै सक्दैन । नयाँ प्रविधिमा प्रवेश गर्छु भनेर भन्नुभन्दा पनि बोलेका कुरा उत्तरपुस्तिकामा जस्ताको त्यस्तै सर्ने प्रविधिलाई परीक्षा प्रणालीमा समावेश गरेर जान सक्ने व्यवस्था भएको खण्डमा मात्र सुनेर जानेका र हेरेर जानेका ले उत्कृष्टता कायम गर्न सक्दछन् । नत्र विश्लेषकहरूबाट आएका विश्लेषणले विद्यार्थीहरूको पठनशैलीलाई कमजोर बनाउँदै अलिक कम तृष्णबुद्धि भएका विद्यार्थीहरूलाई थप मूर्ख बनाउने तर्फ र भोलिका दिनमा उनीहरूलाई प्रतिस्पर्धा गर्न नसक्ने बनाउने तर्फ मात्र भूमिका खेल्छ भन्ने कुरा पंक्तिकारको बुझाइ हो ।

आजका दिनमा हाम्रो मुलुकमा लिने लिखित परीक्षाबाट आफूलाई अब्बल सावित गर्न चाहने विद्यार्थीले, आफ्नो सन्तान अब्बल होस् भन्न चाहने अभिभावक, मेहनतको साथमा रटेर योग्य तरिकाले लेख्न सक्ने, बाक्यहरू मिठो तरिकाले प्रस्तुत गर्न सक्ने हुनेतर्फ लाग्न सक्नुभयो भने मात्र तपाईं आफै विद्यार्थीको भविष्य र बुबाआमाको सपना समृद्ध बन्न सक्छ । त्यो बाहेक नेतृत्व क्याप्चर गरेकाहरूबाट दिएका मार्गदर्शनले मात्र विद्या सफल छैन । ज्ञेय, ज्ञान र ज्ञाता कर्मबाट मात्र सम्भव हुन्छ । तसर्थ, आफूलाई असल बनाउन अनि सफल बनाउन अध्ययन अनिवार्य छ ।

हिजो त हामी चेन्ज गर्न सक्दैनौँ । तर, आफूलाई सफल बनाउन विद्यार्थीले पढ्नु नै पर्छ, लेख्नु नै पर्छ । अभिभावकले कडाईका साथमा यसको व्यवस्थापन मिलाउनु नै पर्छ । सन्तानलाई मर्यादित असल र सबल बनाउन सक्ने शिक्षा हामीसँग छ । सहकार्य गरौं । गुणस्तरीय संस्कारयुक्त सबल र असल शिक्षा दिन हामी निरन्तर अग्रसर हुनु पर्दछ । तर, महŒवपूर्ण सन्तानलाई भाडाकुटी खेले जस्तो शिक्षा दिएर हुँदैन, यसमा सचेत बनौँ । शिक्षाले सम्पत्ति दिने होइन एउटा बालको विचारको संरचनागत ढाँचामा नै परिवर्तन गर्दछ । योग्य बन्न सिकाउँछ । ज्ञेय, ज्ञान र ज्ञाताको भिन्नता बुझाउँछ । कर्म र मर्मको बाटो देखाउँछ ।

तसर्थ, वास्तविक शिक्षा स्वाध्यायन र अध्ययनबाट मात्र सम्भव छ । विकसित आधुनिक प्रविधिले प्रविधिमैत्री मात्र बनाउँ सक्छ । तर, मस्तिष्क मैत्री बनाउँदैन । आश्रित बनाउँछ स्वतन्त्र बनाउँदैन । हाम्रो शिक्षा त प्रविधिको हार्डवेयरमा मात्रै केन्द्रित छ । सफ्टवेयर खोज्नलाई छिमेकी देशमा छ महिना लाइन लाग्नुपर्छ । त्यसै पनि हामी प्रविधिमा प्रवेश गरेजसो मात्र गरेका हौं हाम्रो सिस्टमले सर्भर नै डाउन राखिदिन्छ दुई चार दिन मिनेटका कक्षा कसरी चल्छन् । छोराछोरीलाई कण्ठस्थ गरेर पढ्ने बानी विकास गराउँ, निगरानी गरौं । अन्यथा सुनेर जानेकाहरुलाई हिजो अशिक्षित भनिएको र भोलि पनि अल्पविद्यालाई नै भयंकरी मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here