रगत अभावमा मर्नु नपरोस्

0
13

रगत प्राणीको शरीरमा पाइने रातो तरल पदार्थ हो, जसले शरीरका सबै कोषहरुमा आवश्यकता अनुसार पोषकतत्व र अक्सिजन पु¥याउँछ । त्यसैले रगतलाई जीवन भनिएको हो र यसको दानलाई महादान । नेपालकै सन्दर्भमा अहिले वार्षिक चार लाख पिन्ट रगत आवश्यक छ, जसोतसो तीन लाख पिन्ट रगत संकलन हुने गरेको छ । यस हिसाबले पनि प्रति वर्ष एक लाख पिन्ट रगत अभावको सामना गरिरहनु परेको छ । हालको रगत अभावको समस्यालाई टार्न संकलन गरिएको रागतको व्यवस्थापन ठीक ढंगले गर्नुपर्ने विज्ञको भनाइ छ । डा. विपीन नेपालका अनुसार रगत दान गर्ने युवाहरुको ठूलो संख्या शिक्षा र रोजगारीका लागि विदेशिने गरेका कारण अहिले देशमा रगतको अभाव झनै बढेको छ ।

डा. नेपाल रगतको सदुपयोग नहुँदा समेत अभाव बढ्दै गएको बताउँछन् । संकलित रगतलाई रक्ततत्वका आधारमा उपयोग गर्दा पनि रगत अभाव नहुने उनको तर्क छ । त्यस्तै प्रयोग गरेर बाँकी रहेको रगत रक्त सञ्चार केन्द्रमा फिर्ता दिएर पनि यस्तो अभावलाई कम गर्न सकिने जानकारहरु बताउँछन् । एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न प्रकारका रगत बनाउन सकिन्छ । त्यस्तो बनाउन आवश्यक प्रविधि हाल काठमाडौंस्थित ग्रान्डी अस्पतालमा मात्रै उपलब्ध छ । जसले एउटै रगतबाट आवश्यकताका आधारमा रगत तयार गरेर सेवा प्रदान गरिरहेको छ । यसै पनि रगतको आवश्यकता दुर्घटना वा महाविपत्तिका समयमा बढी हुन्छ । अझ गर्मी मौसममा विरामीको संख्या बढ्ने गरेको छ । यस्तो बेला रक्तदान कार्यक्रमहरु नै कम हुने गर्छन् । गर्मीजन्य व्याधीका कारण रक्तदान गर्नेहरुको संख्या कम हुन्छ, रगतको माग उच्च हुन्छ ।

जलवायु परिवर्तनको चपेटामा विश्व नै पर्न थालेको यो समय देशको पूर्वी प्रदेश कोशीमा पनि रगतको अभाव भएको समाचार सार्वजनिक भएको छ । केही समययता कोशी प्रदेशभरकै अस्पताल र ब्लड बैंकमा रगतको अभाव भएको प्रादेशिक रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताएका छन् । रगतको अभावका कारण दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घरोगी र नियमित रगत चाहिने बिरामी मर्कामा परेको यादवले बताए । रगतकै अभावमा बिरामीले सहज उपचार पाउन नसक्नु दुःखद् अवस्था हो । यसले नागरिकको सहजै स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकार कुण्ठित गरेको मात्र छैन बाँच्न पाउने नैसर्गिक हक पनि प्रभावित भएको छ ।

कोशी प्रदेशमा दैनिक करिब दुई सय पिन्ट रगतको माग रहेको छ । उक्त मागको पचास प्रतिशत पनि पूर्ति हुने अवस्था नरहेको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगले जनाएको छ । स्वास्थ्य सेवाको हब हुँदै गएको विराटनगरमा मधेश प्रदेश र भारतबाट समेत उल्लेख्य संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । जसका कारण त्यहाँ रतगको सधैँ अभाव हुन थालेको छ । त्यसैले रक्तदाताको ठूलो संख्यामा स्वदेशमै रोकेर राख्ने नीति, कार्यक्रम, अवसर र अवस्था सृजना गर्नेतर्फ सरकारको ध्यान जानु पर्दछ । त्यसैगरी उपलब्ध रगतबाट भिन्न–भिन्न तत्व छुट्याएर रगत निर्माण गर्ने प्रविधि सरकारमार्फत सञ्चालन गर्नुपर्छ । अन्यथा रगतकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्थालाई रोक्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here