अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित श्रद्धा कृषि सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
शनिश्चरे बजारस्थित सामुदायिक भवनको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष छविलाल शिवाकोटीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।
सभामा समितिका अध्यक्ष शिवाकोटीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक कृष्णप्रसाद पौड्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड १४ लाख तीन हजार पाँच सय रुपैयाँ, विभिन्न कोषहरुमा जम्मा ८६ लाख ५४ हजार नौ सय ४० रुपैयाँ २९ पैसा, बचतको कारोबार रकम एक करोड आठ लाख ४२ हजार नौ सय ७७ रुपैयाँ ६७ पैसा, लगानीमा रहेको रकम दुई करोड ८० लाख ९७ हजार चार सय ५९ रुपैयाँ उल्लेख गरिएको छ ।
सोही सभामा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७० वर्ष उमेर पुगेका १५ जना ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता चित्रबहादुर कार्की, असल ऋणी सरस्वती जोशी, उत्कृष्ट कृषकअन्र्तगत तरकारी बालीतर्फ छेरु चौधरी, तोरी बालीतर्फ रश्मीप्रसाद नेपाल र मकै बालीतर्फ उमानाथ कट्टेल तथा गत शैक्षिक वर्ष २०८०मा सम्पन्न भएको एसईई परीक्षामा संस्थागत विद्यालयतर्फ शेयर सदस्यहरुका सन्तानमध्ये उत्कृष्ट जीपीए ल्याउन सफल नरेन खातीकी छोरी जेशीका खातीलाई सम्मानित गरिएको थियो ।
सभामा निवर्तमान प्रदेश सभा सदस्य वृखबहादुर प्रधान, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रा सुब्बा, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, संस्थाका पूर्व अध्यक्ष प्रेमसागर सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका सहसचिव युवराज प्रसाईंले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव कृष्णप्रसाद चापागाईंले गरेका थिए ।