चियाको गुणस्तरवृद्धिका लागि अवलोकन तथा प्रशिक्षण

0
17

बिर्तामोड।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा गुणस्तरीय सिटिसी चिया प्रशोधन सम्बन्धी दुई दिने अध्ययन तथा प्रशिक्षण भारतको डुवर्समा सम्पन्न भएको छ ।

सीटीसी चिया उत्पादन गर्ने झापाका उद्योगीहरु सम्मिलित प्रतिनिधिमूलक टोलीले शनिबार र आइतबार डुवर्सका विभिन्न क्षेत्रमा रहेका चिया उद्योगहरुको अध्ययन अवलोकन गरेको थियो । त्यसक्रममा उनीहरुले त्यहाँका चिया उद्योगले गर्ने हरियो पत्ती संकलन र त्यसको व्यवस्थापन तथा प्रोसेसिङदेखि तयारी चिया उत्पादनसम्मको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए ।

त्यसक्रममा उनीहरुले सम्बन्धित उद्योगका अधिकारीहरुसँग गुणस्तरीय सीटीसी चिया उत्पादन लगायतका प्राविधिक विषयमा विभिन्न जिज्ञासासहित अन्तरक्रिया गरेका थिए । २६ जना सहभागी टोलीले डुवर्सको बाटाबारी टी–इस्टेट, इन्दिरा टी–फ्याक्ट्री, मोहितनगर जलपाइगुडीको जेजीएन एग्रो प्रालि लगायतका उद्योगको भ्रमण गरेको थियो । त्यसक्रममा लाटागुरीस्थित ड्रिमलेण्ड रिसोर्टमा सिटिसी चिया सम्बन्धी प्राविधिक प्रशिक्षण, सेमीनार र अन्तरक्रिया समेत भएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण भारतका चिया कन्सल्टेन्ट अभिजित डेले गरेका थिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडमा प्रमुख इन्द्रप्रसाद अधिकारीले नेपालको सीटीसी चियाको गुणस्तर अभिवृद्धिका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको बताए । उनले यस किसिमको कार्यक्रमले सीटीसी चिया उत्पादकमा केही नयाँ ढंगले सोच्ने र काम गर्ने सिप तथा ज्ञान हासिल हुनुका साथै नेपाली सीटीसी चियाको उत्पादन र प्रबद्र्धनमा टेवा पुग्ने बताए । अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा सहभागीहरुले अवलोकन भ्रमण तथा सेमिनारका सेसनहरु उपलब्धिमूलक भएको बताए ।

कार्यक्रममा सीटीसी चिया उत्पादकहरुको तर्फबाट विभिन्न उद्योग तथा संस्थाको प्रतिनिधिका रुपमा सुरेशकुमार अग्रवाल, यामबहादुर श्रेष्ठ, विनयकुमार गोयल, जयप्रकाश शर्मा, दिलीपकुमार लोहारीवाला, रोशनकुमार वंशल, चिन्तामणि दाहाल, शिवकुमार गुप्ता, सचिन निरौला, सुदीप श्रेष्ठ, सञ्जयकुमार कर्ण, नवीनकुमार भट्टराई, देवीप्रसाद कोइराला, रामचन्द्र उप्रेती, पर्वतराज डाँगी, अमुल अग्रवाल, अतुल वाल, रवीन्द्र पाण्डे, चिया विज्ञ मनोज ढकाल, संवाद समूहका तर्फबाट पत्रकार अर्जुन राजवंशी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतको सहभागिता रहेको थियो ।

बोर्डको तर्फबाट क्षेत्रीय प्रमुख अधिकारीसहित अनन्त ढुंगाना, सुमन त्रिखत्री, मिनबहादुर अगुवा लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here