एक समय थियो जहाँ गाउँका अशिक्षित, विपन्न वर्गका महिला र किशोरीहरुलाई फकाएर भारत पु¥याएर बेचबिखन गरेको समाचार आउँथे । प्रविधिको विकास भएपछि त्यसको दुरुपयोग गर्दै नयाँ शैली अपनाएर भारत तथा तेस्रो देशमा पठाइने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै रोजगारको प्रलोभनमा पारेर त कतै विवाहको नाटक गरेर मानव बेचबिखन हुने क्रम बढेकाले यसलाई नियन्त्रण गर्न भइरहेको प्रयास अपेक्षित ढंगले सफल भइरहेको छैन । जसका कारण नेपाली महिला र बालबालिका बेचबिखनको जोखिम बढेको छ । यस्तो परिवर्तित शैलीले मानव बेचबिखन न्यूनीकरणमा चुनौति थपिएको अध्ययनहरुले देखाएका छन् ।
यतिबेला शिक्षित तथा शहरका महिलाहरु पनि बेचबिखनको जोखिममा पर्दै गएका तथ्यांकहरुले देखाएका छन् । प्रविधिको पहुँच बिस्तार भएपछि सामाजिक सञ्जालको दुरुपयोग गर्दै त्यसकै माध्यमबाट साथी बनाउने, प्रलोभन देखाउने र जीवनसाथी बनाउने विश्वास दिलाएर जानी–नजानी किशोरीहरु जोखिममा पर्दै गएका छन् । फेसबुक, टिकटिक, इमो, वाट्सएप जस्ता माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगेर बेचबिखनमा परेका घटना बढेपछि त्यस क्षेत्रमा कार्यरत संघ–संस्थालाई चुनौति थपिएको छ । प्रविधिले मानिसको धेरै कामलाई सहज बनाए पनि यसको दुरुपयोगले नेपाली किशोरी, युवती र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्नु हाम्रो समाज व्यवस्था, संस्कृति र सभ्यताका लागि समेत चिन्ताको विषय हो ।
चेलीबेटी बिचबिखनबिरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भए पनि दलालहरुले नयाँ शैली अपनाएपछि यो समस्या झनै जटिल बनेको छ । मानव तस्करहरुले फोन तथा सामाजिक सञ्जालबाटै ग्रामीण क्षेत्रका सोझा र अशिक्षित महिलाहरुलाई मात्र होइन शहर–बजारका महिलाहरुलाई समेत प्रभाव पार्न थालेका छन् । जसका कारण मानव बेचबिखन रोकथाममा चुनौति थपिएको माइती नेपालले जनाएको छ । दलालहरुको नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा परेर नेपाली महिलाहरु ग्रामीण क्षेत्रका नाका प्रयोग गरेर जाने गरेको बताइएको छ ।
मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । भौतिकताको विकाससँगै बढेको बिलासिताप्रतिको आकर्षणले शिक्षित महिला पनि बेचबिखनको दुष्चक्रमा फस्दै गएको सम्बद्ध क्षेत्रको निष्कर्षमा छ । मीठो खाने, राम्रो लगाउने, समाजलाई देखाउनुपर्ने प्रवृत्तिले महिलाहरु जोखिम मोल्न तयार भएको शक्ति समूहमा आबद्ध निर्मला पौडेलको भनाइ छ । यस्तोमा माइती नेपाल, प्रहरी वा स्थानीय सरकारले मात्र समाजमा जरो गाडेर बसेको मानव बेचबिखनको भयावहतालाई न्यूनीकरण गर्न सकिँदैन । त्यसका लागि समाजलाई सचेत र जागरुक बनाउन जरुरी छ । त्यसका साथै आफ्नै भूमिमा रोजगारका अवसरहरु पनि प्रदान गर्नुपर्दछ । यसतर्फ नागरिक समाज, अभिभावक र सम्बद्ध सबै पक्षको ध्यान जानु पर्दछ ।