अर्जुनधारा ।
झापाको अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पताललाई मेडिकल सामग्री प्राप्त भएको छ ।
अस्पताललाई प्राप्त भएको उक्त सामग्री एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङलाई हस्तान्तरण गरेका हुन् ।
अस्पतालमा प्राप्त भएका सामग्रीहरुमा डेलिभरी बेड एक थान, इसीजी मेसिन १ थान, फोटोथेरापी मेसीन १ थान, प्यासेन्ट बेड ९ थान, एक्स–रे मेसिन १ थान, बीपी सेट ५ थान, ल्याब्रोटेरी माइक्रोस्कोप १ थान, सीटीजी मेसिन १ थान, पोर्टेबल भिडियो एक्स–रे मेसिन १ थान रहेका छन् ।
नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा संघीय सरकारबाट उक्त सामग्रीहरु ७६ लाख रुपैयाँ बराबरको रहेको अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
अस्पतालका प्रमुख चेम्जोङले अस्प्तालको वर्तमान अवस्था र सेवाहरुको विषयमा जानकारी गराएको कार्यक्रममा अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले गत आर्थिक वर्ष ०८०÷०८१ र चालु आर्थिक वर्ष ०८१÷०८२ को सेवा प्रतिवेदनबारे प्रस्तुत गरेका थिए । प्रमुख तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख खड्काले गरेका थिए ।
कार्यक्रममा नगर अस्पतालबाट पहिलो पटक शल्यक्रियाको माध्यमबाट प्रसुती सेवा लिने अर्जुनधारा–८ की सिवानीदेवी पूर्वेलाई सम्मान गरिएको छ । उनले गत साउन २६ गते छोरा प्रथम पूर्वेलाई जन्म दिएकी थिइन् ।