बचतपत्रको कारोवार सम्बन्धी स्तुत्य निर्णय

0
2

अहिले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सम्बन्धी राम्रो निर्णय भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारले आवश्यकता अनुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ । अर्थतन्त्रमा छरिएर रहेको स–सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफलसहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु रहेको छ । नागरिक बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । नागरिक बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने र नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्दछन् ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी भएसँगै अब पूँजी बजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेस्टर पोर्टलमार्फत् गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली जस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्यखालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेस्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो । सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’को दोस्रो बजार कारोबार पनि ‘डोम्स’ मार्फत् गर्न सकिनेछ । तर, विकास ऋणपत्रको दोस्रो बजार कारोबार भने निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत् कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

आन्तरिक ऋण उठाउनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिका अनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिक रूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिने छ । कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित ब्याजको हिसाब गर्दा तीस दिनको एक महिना र तीन सय साठी दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । ब्याज भुक्तानी हुने मितिको एक कार्य दिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइनेछ । त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सम्बन्धी व्यवस्थाको सफल र प्रभावकारी कार्यान्वयन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here