गुमनाम इतिहास संरक्षण गर्ने पुस्तक “बिसे नगर्ची”

0
46

इतिहासका कृतिहरुको भण्डारमा अर्को एक ऐतिहासिक कृति थपिएको छ । त्यो कृति हो स्रष्टा दीपेन्द्रराज तिम्सिनाको सिर्जना ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ ।

विसे नगर्ची पुस्तक आफैमा ऐतिहासिक पुस्तक त हुँदै हो । यो एक दुर्लभ अर्थात् बिरैले लेखिएको, बिरलै पढ्न पाइने पुस्तक हो । अनि यो पुस्तक कलकल पानी बग्ने एक झरना हो, जसले लाखौंको तिर्खा एकसाथ मिठो गरी मेट्न सक्दछ । बिसे नगर्चीबारे जान्ने चाहना धेरैलाई छ । उनीबारे पढ्न पुस्तकहरुको खोज गर्नेहरु धेरै छन् । तर, कतै पुस्तक या प्रकाशन भेटिँदैन । किनकि बिसे नगर्चीबारे पुस्तकहरु लेख्दै लेखिएन । यस्तो अवस्थामा तिम्सिनाले लेखेको पुस्तक बिसे नगर्ची प्रकाशन हुँदा त्यो अभाव पूर्ति भएको छ । लाखौंको तिर्खा मेटिएको छ ।

बिसे नगर्ची धेरै नै दुरदर्शी थिए । लेखकीय भनाई शीर्षकमा यस कृति लेखक तिम्सिनाले लेखेका छन्– ‘गोरखा जिल्लाको सामान्य परिवारमा जन्मनुभएको थियो ऐतिहासिक पुरुष बिसे नगर्ची । इतिहासमा उहाँको नाम दलित भएकै कारण वा पृथ्वीनारायण शाहको इतिहास नबिक्ने भएर नलेखिए पनि उहाँ नेपाल एकीकरणका लागि दरिलो खम्बा हुनुहुन्थ्यो । नुवाकोटमा दुई पटकसम्म हार व्यहोरेर निराश बनेका थिए बडामहाराजधिराज पृथ्वीनारायण शाह । पटक–पटक भारदारी सभा, पण्डित सभा गरेर पनि उनलाई नेपाल एकीकरणका लागि चाहिने आर्थिक सहयोग जुटाउने उचित सल्लाह कसैले दिन सकेका थिएनन् ।

एउटा सही सल्लाहकार भयो भने राज्य बनाउन र युद्ध नै जित्न परे पनि सजिलै सकिन्छ । यस्तो उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो बिसे नगर्ची । बिसे नगर्ची दरवारमा नगरा बजाउने, कटुवाल फलाक्ने र दरवारको बालिघरे हुनुहुन्थ्यो । उहाँले पृथ्वीनारायण शाहलाई पहिले आफूले एक मोहोर रुपैयाँ दिएर गोरखा राज्यका प्रत्येक घरधुरीबाट एक–एक मोहोर उठाउन दिएको सल्लाह नै नेपाल एकीकरणको मुख्य आधार बनेको इतिहास छ । तर, यस्तो सामरिक सल्लाह दिने बिसेलाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन ।’ लेखकको यस विचारबाट पनि थाहा हुन्छ कि बिसे नगर्ची कति महान हुन् भनेर ।

यो पुस्तक बिसे नगर्चीबारेको खोज अनुसन्धान र लेखहरुको संगालो हो । पुस्तकमा ४९ वटा विषयमा कतिपय लामा र छोटा खोज अनुसन्धानका तथ्य, विवरण र लेखहरु प्रकाशित भएका छन् । केही शीर्षकहरु यसप्रकार रहेका छन्, हरेक कुरामा सक्षम बिसे नगर्ची, को थिए बिसे नगर्ची, के थियो बिसेले दिएको सामरिक महत्वको सल्लाह, सहकारीको शुरुवातकर्ता हुन् बिसे नगर्ची, कर तथा राजश्व प्रणालीको जन्मदाता हुन् बिसे नगर्ची, बिसेलाई राज्यले चिन्न सकेन, ख्वामित मैले निकास दिइसकेको छु पत्ता लगाउनुस्, किन दलित राष्ट्रिय विभूति हुँदैनन् ? यस्तै यस्तै तथ्यपूर्ण, ऐतिहासिक र रोचक सामग्रीहरु समेटिएका छन् यस कृतिमा ।

पृथ्वीनारायण शाह र बिसे नगर्चीबीच भएको एक संवादबाट बिसे नगर्चीको बुद्धिमानिता जानौ । जदौ महाराज । भन् बिस्या किन आइस् । सरकार चिन्तित् भइस्या देख्याछु नि हो । हो बिस्या ठीकै अनुमान लगाइस् । कारण क्या प¥या हुन् कुन्नि । नेपाल हान्या सोच बुबा हजुर हुँदादेखि कै हो । तर, नुवाकोटै दखल हुन सक्या होइन । एकाध पटक हार्दैमा हार मान्या हो र ? त्यो त होइन । राम्रो साइत हेराएर हान्न जान्या नि महाराज । यतिकै जाँदा फेरि त्यस्तै नहोला भन्या छैन । हतियार थपौँ हाल दरबार पहिल्या जस्तो बलिया रयान, लिस्योस् महाराज एक रुपियाँ । यो के ? सहयोग महाराज । एक रुपियाँले क्या गन्र्या त ? गोरखामा कति घरधुरी रह्या छन् महाराज ? बाह्र हजार । सबैसँग एकएक रुपियाँ लिन्या हो भन्या बाह्र हजार हुन्छ । हतियार किन्न पुग्न्या होइन र महाराज । अति उत्तम कुरा गरिस् बिस्या त्यता सोच्याकै रह्या न छु ।त्यसरी बिसे नगर्चीले धेरै दुरदर्शी सल्लाह दिएका थिए महाराजलाई । जुन सल्लाहले नेपाल एकीकरण गर्न सम्भव बनायो ।

पुस्तकमा, बिसे नगर्चीको साहित्यिक स्थानबारे पनि उल्लेख गरिको छ । नेपाली साहित्यमा बिसे नगर्चीलाई नायक बनाएर हालसम्म दुईवटा रचनाहरु तयार पारिएका देखिन्छन् । पहिलोचोटी साहित्यकार भिमनिधि तिवारीले बिसे नगर्चीलाई नायकका रुपमा प्रयोग गरेर साहित्यिक विमर्शको केन्द्रमा उभ्याउन खोजेका छन् । निधिको पाँचौ एकांकी (२००८) नामक संग्रहमा समेटिएको बिसे नगर्ची शीर्षकको एकांकीमा, पृथ्वी नारायण शाह सल्लाह लिन बिसे नगर्चीको झुपडीमा पुग्दा बिसे नगर्चीले महत्वपूर्ण सल्लाह दिएका प्रसंग उल्लेख गरिएको छ ।

कवि श्रवण मुकारुङको कवितामा बिसे नगर्ची । कवि मुकारुङले बिसे नगर्चीको बयान कविता नलेखेका भए सायद बिसे नगर्ची यही शताब्दीमा यति धेरै चर्चित हुने थिएनन् या चिनिने थिएनन् होला । यी दुबै स्रष्टा तिवारी र मुकारुङले आफ्ना साहित्यिक रचनामा शब्दको शक्तिलाई आआफ्नो युगको चेतना अनुसार अभिव्यञ्जित गरेका छन् ।

यस संग्रहमा नेपाल एकीकरणको युद्धमा लडेका दलित योद्धाहरु शीर्षकको लेखमा, मनिराम गाइने, कालु सार्की, जसवीर कामी र बाङ्गे कामीको योगदानका बारेमा उल्लेख गरिएका छन् । कृतिमा बाङ्गे सार्की नेपालको पहिलो शहीद हुन् उल्लेख गरिएको छ । जसलाई बाँकावीर र लखन थापाभन्दा पहिले नै नेपाली राष्ट्र जोगाउन लागेका एक व्यक्ति अंग्रेजहरुबाट वि.सं. १८६६ मा निर्मम हत्या गरिएका थिए उल्लेख छ । त्यस्तैगरी ठूले कामीले जेठी तरवार बनाएको रोचक विवरण पनि पढ्न पाइन्छ यस कृतिमा । मकवानपुरमा सेनबंशी राजाको पालामा एकसय साठीधार्नी फलाम पिटेर एक जोडी तरवार बनाएका थिए ठूले कामीले ।

कृतिमा नेपालमा परियार जातिका ऐतिहासिक व्यक्तिहरु शीर्षकको लेखमा बखतवीर बुढापृथी, रामशरण दर्नाल, धनमान सिंह परियार, डी.बी. परियार, झाप्रे दर्नाल र दिलबहादुर सुनामले गरेका योगदानका बारेमा पनि वर्णन गरिएका छन् ।

पुस्तकमा, बिसे नगर्चीकाबारेमा इतिहास लेखन सम्बन्धमा इतिहासकारहरुले कन्जुस्याइँ गरेको विभिन्न विद्वानहरुको विचारहरु प्रकाशित भएका छन् । अनि खासमा को थिए त बिसे नगर्ची ? उनले के–के गरे ? कुन–कुन युद्धमा बिसेको सहभागिता थियो ? बिसेले कहाँ नगरा बजाए ? बिसेले पृथ्वीनारायण शाहलाई त्यस्तो सामरिक महत्वको सल्लाह के दिए ? लगायत यावत विवरण यस पुस्तकमा समेटिएका छन् । बिसे नगर्चीकाबारेमा प्रभावकारी काम नभए पनि शालिक भने देशको विभिन्न ठाउँ जस्तै गोरखा, चन्द्रागिरी काठमाडौं, बुटवल र नवलपरासीमा स्थापना भएका छन् ।

नायक राजेश हमाल लगायत पाँच जनालाई बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान पनि प्रदान गरिएको छ । सम्मान गोर्खा फाउण्डेशन नेपाल बिर्तामोड झापाले गरेको हो । नायक हमालसहित तुलसी घिमिरे, सीता परियार, भुवनसिंह विश्वकर्मा र महेन्द्रकुमार गिरीलाई सम्मान गरिएको छ । झापाली पत्रकारहरु बिसे नगर्चीको जन्मस्थल पुगेको प्रसंग पनि यस कृतिमा समेटिएको छ । ऐतिहासिक व्यक्तित्व बिसे नगर्चीका बारेमा बुझ्न २०७८ कार्तिक २४ गते १५ जनाको झापाली पत्रकार टोली गोरखा पुगेर अवलोकन, अध्ययन अनुसन्धान गरेको थियो ।

बिसे नगर्ची न राजा थिए न रजौटा न त थिए मन्त्री तर उनी थिए निकै महत्वपूर्ण । जसले पृथ्वीनारायण शाहलाई राज्य विस्तारकाबारे धेरै कुरामा सल्लाह दिएका थिए । तसर्थः नेपाल एकीकरण हुनमा बिसे नगर्चीको पनि ठूलो योगदान थियो । यस पुस्तक, लेखकले निकै मेहनतले लेखेका हुन् । स्थलगत भ्रमण, जानकार तथा विज्ञहरुसँगको कुराकानीका साथै ९३ वटा सन्दर्भ सामग्री समेत अध्ययन गरी लेखेका हुन् । त्यसैले यो पुस्तक लेखकको निकै ठूलो मेहनतको फल हो । खोजमूलक लेखनमा गहिरो रुची राख्ने, दर्जनांै कृतिका स्रष्टा पथरीशनिश्चरे–१ मोरङका स्रष्टा दीपेन्द्रराज तिम्सिनाको यो पुस्तक नेपाली इतिहास लेखनमा महत्वपूर्ण स्थान राख्ने छ ।

लिला निरौला (तिम्सिना) प्रकाशक रहेको यस पुस्तक प्रकाशनार्थ अरु धेरैले सहयोग गरेका छन् । कृति प्रकाशनका लागि फौद कार्की, सागर ओली लगायत ३३ जना प्रमुख सहयोगीहरु, २७ जना प्रकाशन सहयोगी र १२ जना सहयोगी महानुभावहरु रहेका छन् । बिसे नगर्चीको योगदानबारे विस्तृतमा चर्चा गरिएकोे यो पुस्तक निकै नै महत्वपूर्ण भएर नै यति धेरैजनाले प्रकाशनमा सहयोग गरेका छन् । त्यसैले यो पुस्तक सबैले एकपटक अवश्य पढौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here