पाँचथर ।
पाँचथरका दुई स्थानमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
पाँचथरको फिदिम नगरपालिका–१ साँगेबोटमा रहेको राजकुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा गरेर बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका–१ का ५० बर्षीय गोपी विश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।
हाईड्रोपावरकै कर्मचारी फिदिम–१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दास, फिदिम-१ का ५५ बर्षीय धनकुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन् । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सहितको टोली खटिएर बेपत्ताहरुको खोजतलास भइरहेको छ ।
त्यसैगरी फिदिम नगरपालिका–४ चिसापानीमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम–१२ की २४ बर्षीया सपना शेर्पा र उनको ६ बर्षीया छोरी डोल्मा शेर्पा आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुवै जनाको मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उक्त स्थानमा समेत जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्धार कार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।