छविराज ढकाल,
पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे–२ मा रहेको पथरी नगर अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू थप गर्दै लगेको छ।
अत्याधुनिक उपकरणहरूको प्रयोग गरी दैनिक तथा साप्ताहिक विशेषज्ञ डाक्टरहरु सहित आकस्मिक, बहिरङ्ग तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको यस अस्पतालले विगत केही वर्षदेखि हालसम्ममा १५ बढि स्वास्थ्य सेवाहरू सञ्चालन गरिरहेको हो।
विसं.२०६७ साउन १ गतेदेखि ५ बेडबाट सेवा शुरू गरेको नगर अस्पतालले आर्थिक वर्ष २०७९–०८० मा ६३ हजारबढी बिमारीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा ९३ हजार दुई सय ३६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। जसमध्ये ८८ हजार तीन सय ३१ जनाले बीमा बापतको सुविधा उपयोग गरेका थिए।
पछिल्लो समय यस नगरभित्रका १० वटै वडाहरूमा स्थापना भएका छन् । वडा नम्बर १,३,४,६,७,८ र १० मा ७ वटा आधारभूत स्वास्थ्य केन्द्रहरू, वडा नम्बर ५ र ९ मा दुई वटा स्वास्थ्य चौकी र वडा नम्बर २ मा एउटा पथरी नगरअस्पतालले विभिन्न स्वास्थ्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूबाट पथरी शनिश्चरे नगरवासीहरूलाई स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको यो नगरअस्पतालले नजिकैको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीको व्यवस्थापन समितिसँग समन्वय गरी त्यहाँका विशेषज्ञ डाक्टरहरूबाट यस नगरपालिकाभित्र र आसपासका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।
नगरअस्पतालबाट २४ सैं घण्टा प्रसुति , आकस्मिक तथा वहिरंग सेवा, दैनिक ओपिडी सेवा, दैनिक भिडियो एक्स(रे जस्ता स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी, हप्ताको तीन दिन हाडजोर्नी तथा नशा, फिजिसियन, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनरल सर्जरी सेवा उपलब्ध हुँदै आएको छ भने साताको दुई दिन नाक, कान र घाँटी विशेषज्ञको सेवा र छालारोग (एक दिन), कालाज्वार, ज्वरो, मलेरिया,टाईफोईड, चोटपटक लगायतका अन्य आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा पथरी नगरअस्पतालका प्रमुख मुरारी आचार्यले बताए ।
उनले भिटामिन डी, बि, बि टुवेल (ं१२), थाईराइड जस्ता रोगहरूको अत्याधुनिक उपकरणहरू सहितको प्रयोगशालाबाट स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेको र नगर अस्पतालले निकट भविष्यमै दन्त सेवा पनि विस्तार गर्ने योजना बनाएको बताए ।
हाल टिपीओ नेपाल र पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा दैनिक मनोविमर्श सेवा, फिजियोथेरापी, आँखा तथा कान रोग ,परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन ,खोप , परिवार नियोजन कार्यक्रम जस्ता विभिन्न स्वास्थ्य कार्यक्रमहरु सबै आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत सञ्चालित छन्।
दैनिक रुपमा विषादीयुक्त खाद्यान्न पदार्थको उपभोग, सन्तुलित खानपान , विलासीपूर्ण जीवनशैलीका कारण सुगर र प्रेसरका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। अस्पतालमा आउने सबैभन्दा बढी सुगर र प्रेसरका बिमारीहरू रहेको पथरी नगर अस्पतालका प्रशासन प्रमुख यामबहादुर खड्काले बताए ।
हाल थप सुविधा सम्पन्न १५ बेडको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नगर अस्पताल परिसरमा निर्माण भइरहेको सो नयाँ सुविधा सम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको रेखदेख समितिका सदस्य समेत रहेका जग्गादाता बाबुराम राईले जानकारी दिए ।
उनले करिब २३ कट्ठा क्षेत्रफल ओगटेको यस अस्पताल परिसरमा हाल निर्माणाधीन १५ बेडको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।