सुखानी सामुदायिक वनको २७औं सभा

0
18

अर्जुनधारा।

झापाको अर्जुनधारा–३ र इलामको माई–४स्थित सुखानी सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

समूहअन्र्तगत रहेको सुखानी पर्यटन क्षेत्रको प्राङ्गणमा समूहका अध्यक्ष मंगलसिंह लिम्बूको अध्यक्षतामा आयोजित उक्त भेलाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सभामा समूहका अध्यक्ष लिम्बूले समूहको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक धनबहादुर तामाङले महालेखा समितिको प्रतिवेदन, कार्यालय सचिव खगेन्द्र भट्टराईले चालु आर्थिक वर्ष ०८१÷०८२को बजेट, वार्षिक नीति तथा कार्यक्रम र सल्लाहकार समितिका संयोजक ओमप्रकाश सिटौलाले विधान मस्यौदा सुझाव प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत आर्थिक वर्षमा ९७ लाख दुई हजार पाँच सय ३० रुपैयाँ ४३ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षका लागि अनुमानित ६४ लाख ७७ हजार छ सय ७९ रुपैया ८२ पैसा बराबरको बजेट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रस्तुत गरिएको बजेटमध्ये वन विकासतर्फ २३ लाख पाँच हजार ९७ रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ २२ लाख ६९ हजार नौ सय रुपैयाँ, प्रशासनिक खर्चतर्फ नौ लाख १२ हजार रुपैयाँ, पर्यापर्यटन विकासतर्फ छ लाख रुपैयाँ, सामाजिक विकासतर्फ तीन लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी सभामा सुखानी पर्यटन क्षेत्रमा आमाबुबा कृष्णकुमारी र खड्गबहादुर राईको स्मृतिमा फलामको चौतारो निर्माण गर्ने दाता अर्जुनधारा–३ निवासी राजकुमारी राई लिम्बू र समूहलाई ५० हजार रुपैयाँ बराबरको ५५ थान प्लाष्टिक कुर्सी, टेबल र त्रिपाल सहयोग प्रदान गर्ने दाता हाल अमेरिकामा रहेका माई–४स्थित दाहालटार निवासी गोपाल र सरिता पौडेललाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

सोही सभामा सुखानी पर्यटन क्षेत्रमा नवनिर्मित प्रवेशद्वारको उद्घाटन, विपन्न २७ परिवारलाई एलपी ग्यास चुल्हा सेट र १५ जना ज्येष्ठ उपभोक्तालाई ढाका टोपी र दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ । सभामा माई–४का वडाध्यक्ष हेम लायो मगर, डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) अर्जुनधारा–३का अध्यक्ष याम मगर, राप्रपाका प्रतिनिधि इन्द्रबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समूहका पर्यटन उपाध्यक्ष विपिन चौहनले स्वागत गरेको उक्त सभाको सञ्चालन कार्यालय सचिव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here