अर्जुनधारा ।
झापाको अर्जुनधारा–७स्थित शनिश्चरे बहुमुखी क्याम्पसको ११औं क्याम्पस सभा एवम् १८औं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ ।
क्याम्पसको सभाहलमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख मोहनप्रसाद ओलीले क्याम्पसको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक कृष्ण पौडेलले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा शैक्षिक वर्ष २०७९का क्याम्पस टपर र संकाय उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश छ हजार र चार हजारसहित मायाको चिनोबाट पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा क्याम्पस टपर व्यवस्थापन संकाय पहिलो वर्षका उत्कृष्ट विद्यार्थी अलिसा दाहाल(६७.६%), व्यवस्थापन संकाय दोस्रो वर्षका उत्कृष्ट विद्यार्थी समीक्षा राई(६०.४%), व्यवस्थापन संकाय तेस्रो वर्षका उत्कृष्ट विद्यार्थी घनश्याम सापकोटा(५५.८०%), व्यवस्थापन संकाय चौथो वर्षका उत्कृष्ट विद्यार्थी मनीष आचार्य(६१.४%), शिक्षाशास्त्र संकाय पहिलो वर्षका उत्कृष्ट विद्यार्थी दीपा भट्टराई(५३.३३%), शिक्षाशास्त्र संकाय दोस्रो वर्षका उत्कृष्ट विद्यार्थी कञ्चन खतिवडा(५४.६६%) र शिक्षाशास्त्र संकाय तेस्रो वर्षका उत्कृष्ट विद्यार्थी बन्दना अधिकारी(४८%) रहेका छन् ।
क्याम्पस प्रमुख ओली र लेखा समितिका संयोजक पौडेलले प्रस्तुत गरेको दुवै प्रतिवेदन सभाबाट अनुमोदन भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य भक्त खपाङ्गी, समितिका पूर्व अध्यक्ष सरोजकुमार ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका उपाध्यक्ष लोकनाथ गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापाले गरेका थिए ।