बिर्तामोड ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ।
सहकारीको विषयगत उपसमिति सामुदायिक सरोकार उपसमितिको आयोजनामा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले झापा,मोरङ र इलाम जिल्लास्थित आफ्ना ५८ सेवाकेन्द्रमध्ये ४० सेवाकेन्द्रका १ हजार ८६ जना ज्येष्ठ शेयर सदस्यहरुलाई नगद पाँचहजारसहित सम्मान गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए।
यसैविच बिर्तामोड- १० स्थित एनएमसी सैनिकबजार सेवाकेन्द्रले आफ्ना २१ जना ज्येष्ठ शेयर सदस्यलाई नगदसहित फूलमाला लगाएर सम्मान गरेको छ।
संस्थामा आबद्ध जेष्ठ नागरिक महेश्वर पौडेल, विष्णुबहादर राई,धनबहादुर दर्जी, जानुका मैनाली, देवीप्रसाद दंगाललगायतलाई बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु सुनुवार मुखिया,सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक टीकाराम दंगाल, ज्ञानकुञ्ज पुस्तकालयका अध्यक्ष भोला पाण्डेलगायतले फूलमाला र अबिर लगाएर सम्मान गरेका थिए।
संस्थाको नियम अनुसार ५ हजारभन्दा बढी शेयर रकम मौज्दात भएका, सदस्यता प्राप्त गरेका ५ वर्ष अवधि पूरा गरेका ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यलाई संस्थाले नगद ५ हजारसहित सम्मान गर्ने गरिएको सैनिक सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले जानकारी दिए। सहकारी अभियानमा देशकै दोस्रो ठूलो सहकारी संस्था एनएमसीमा हाल १लाख ६९ हजार बढी सदस्य आबद्ध रहेका छन।
सैनिकबजार सेवा केन्द्रगत उपसमिति संयोजक दंगालको अध्यक्षतामा भएको कार्यक्रममा उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए। ज्ञानकुञ्ज पुस्तकालयका अध्यक्ष भोला पाण्डे, जेष्ठनागरिक संघ बिर्तामोड -१० का अध्यक्ष तथा सम्मानित व्यक्तित्व देवीप्रसाद दंगाल, बिर्ता अर्जन क्षेत्रीय समन्वय उपसमिति सदस्य मुखिया, सामुदायिक तथा कर्जा फाँट प्रमुख सम्झना गौतम, भौगोलिक एकाइ उपसमिति संयोजक चामबहादुर सुब्बा, ओमबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।