बिर्तामोडमा बजार अनुगमन, अखाद्य बस्तु जफत

0
112

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिकाले बजार अनुगमन शुरु गरेको छ । दशैं, तिहार नजिकिएसँगै बजारमा हुने कालोबजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने भएकाले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले बिर्तामोड–५मा रहेको सतासी डिपार्टमेन्ट स्टोर अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाइएको छ । यस्तै बिर्तामोड–५को स्वरोजगार भवानी बचत ऋण सहकारी पसलबाट केही अखाद्य रंग मिसावट भएको फ्राई मटर जफत गरेको छ ।

बुधवार गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्यसूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाइएको, पेय पदार्थमा खुद्रा मूल्य उल्लेख नगरिएको पाइएको छ । यस प्रकारका पसलहरुलाई सुधार गर्न निर्देशन गरेको जनाइएको छ । नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनै पनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा उप–प्रमुख संग्रौला, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य तिला गौतम, संगीता सिवा, आन्तरिक राजश्व कार्यालयका टंक पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका टंकप्रसाद प्रसाई, खाद्य गुणस्तर तथा नापतौल कार्यालयका सुवास वस्ती, हरेराम महतो, बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, शम्भु शाह, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल, प्रहरीलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here