बुद्धशान्ति वडा नं १ झापा मिडिया कप फुटबलको उपाधि पत्रकार मञ्च दमकलाई

0
2

बुद्धशान्ति।

बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाको आयोजनामा भएको बुद्धशान्ति वडा नं १ झापा मिडिया कप फुटबल प्रतियोगिता–२०८१ को उपाधि पत्रकार मञ्च दमकले जितेको छ ।

भद्रपुर प्रेस क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै पत्रकार मञ्च दमकले उपाधि जितेको हो । उपाधि हात पारेसँगै उसले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको भद्रपुरको टोलीले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यसअघि भएको सेमिफाइनलमा खेलमा अर्जुनधारा प्रेस क्लबलाई सडन डेथमा पराजित गर्दै पत्रकार मञ्च दमक फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, खेलकुद पत्रकार मञ्च झापा शाखालाई ३–२ गोलको अन्तरमा पराजित गर्दै भद्रपुर प्रेस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिप्पर, म्यान अफ दि म्याचलाई स्थानीय स्तरमा उत्पादन गरिएका मुढा, रोङ गाउँपालिकाले उत्पादन गरेको अर्गानिक चिया, गुन्द्रुक प्रदान गरिएको थियो ।

बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नं -१ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा फाइनल खेल सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, सह-सचिव अर्जुन राजवंशी, त्रिभुुवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग पवन तिम्सिना, वडा नं -१ का वडा सदस्य लक्ष्मी प्रसाद कंडेल, बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार उमाकान्त खनाल, गंगाराम गड्तौला, भुवन तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष वाग्लेले खेलकुद क्षेत्र वडाको प्राथमिकताको क्षेत्र भएको बताएका छन्। उनले समृद्धिका अनेकन पाटाहरु भए पनि खेलकुद पनि समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका थिए । उनले खेलकुदको माध्यमबाट असल, सभ्य र समुन्नत राष्ट्र बनाउने सकिने धारणा राख्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए ।

त्यस्तै पत्रकार सहासंघ झापा अध्यक्ष गिरीले जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकै थलोमा उभ्याएको बुद्धशान्ति प्रेस क्लबको प्रसंशा गरेका थिए। उनले समग्र सञ्चार क्षेत्रको विकासका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताए ।

उनीहरुले बिजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले स्वागत गरेका थिएभने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । खेल बुद्धशान्ति -१ को त्रिभुवन माविको खेल मैदानमा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न वडा नं -१ मुख्य प्रायोजन गरेको थियो भने नेपाल पत्रकार महासंघ झापा शाखाले समन्वय गरेको थियो ।

असोज १७ गते देखि सुरु भएको प्रतियोगितामा आयोजक बुद्धशान्ति प्रेस क्लब सहित अर्जुनधारा प्रेस क्लब, कनकाई प्रेस क्लब, भद्रपुर प्रेस क्लब, मेचीनगर प्रेस क्लब, दमक पत्रकार मञ्च र नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाको टिम सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here