एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

0
1
दोधारा चाँदनी (कञ्चनपुर), 
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उहाँको अवस्था भने अझै अज्ञात छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा पर्नुभएको हो । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन हुनुभएको थियो ।
उहाँको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उहाँका दाइ किशोर जोशीले बताउनुभयो ।
“हामीले पटक पटक मन्त्री, प्रधानमन्त्रीलाई भेटेरै भाईको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छौँ तर हालसम्म प्रगति भएको छैन”, उहाँले भन्नुभयो ।
नेपाल विद्यार्थीसँग कञ्चनपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विपिनको खोजीकार्य चाँडो गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
सङ्घका केन्द्रीय सदस्य इन्द्र साउँदले उहाँको परिवार विपिन आउने आशामा बसेकाले यथाशीघ्र खोजी गरिदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्नुहुँदै प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here