दशैं :परम्परा र नेपाली समाज

0
39

नेपाली समाज असल परम्परालाई विस्थापित गर्दै अनेकौं बहकाउमा पनि लाग्न सक्छ भन्ने सयौं उदाहरण दिन सकिन्छ । यो कुरा दशैंका सन्दर्भमा पनि लागू हुन्छ । नेपालीहरूको महान चाड दशैंलाई बडा दशैं पनि भनिन्छ । बडा दशैं २०८१ को माहौल शुरु भएको छ । यो पर्व महिलाको महिमा र गुणगानले भरिएको छ । महादुर्गाका विविधरूपको बडा दशैंमा सम्मानका साथ पुजा गरिन्छ । दशैंको अर्थराजनीतिक अर्थ अलग्गै छ । गरिबी, अभाव र दुःखका आफ्नै कथा छन्, तर मूल कुरा यसको सामाजिक र सांस्कृतिक महŒव नै बढी छ । हाम्रो देश नेपाल एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरू रहेको देश हो । यसरी हेर्दा दशैं नेपालको कुन–कुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो, किटेर यसै भन्न नसकिने भएको छ ।

किनभने कोही दशैं चाडलाई हिन्दुहरूको मात्रै चाड हो भन्छन् । कोही–कोही वास्तवमा दशैं हिन्दुहरूको चाड होइन, यो त सनातनीको चाड भन्छन् । हाम्रो समाज अहिले पनि पितृसत्तात्मक सोचको चौघेरामा बन्दी छ । शक्तिको मूल स्रोत, दयाको मूल स्रोत, क्षमा र करुणाको मूल स्रोत मातृशक्तिको आराधना गरिने यो पर्व आसुरी शक्तिको नाश गर्दै सद्विचार र सत्कर्ममा जोड दिन मनाइन्छ । आसुरी शक्ति भनेको कुनै क्षेत्र, रङ्ग, रूप, छाला, जात, धर्म र राजनीति दर्शनको भेद होइन, यो त प्रवृत्ति हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय हाम्रो मुलुकमा विविधताका बीच एकताको मूलमन्त्रलाई आत्मसात गर्छ दशैंले ।

विविधताका पाटाहरूलाई संयोजन गर्दै सांस्कृतिक घुलनशीलताको अनुपम दृष्टान्तको रूपमा देखापरेको छ दशैं नेपालमा । यो हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबास गर्ने नेपालीबीचको एकतालाई बलियो बनाउने चाडको रूपमा विकास भइरहेको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो । महिलालाई दोस्रो नागरिक मान्ने साँघुरो मानसिकताले निर्माण गरेको अनेकन अप्ठेरामा नेपाली महिलाहरू छन् । तर, दशैंमा दुर्गामाताको पूजा आराधना गरिने, देवीको स्तुतिगान गरिने गर्छ, तर सशरीर उभिएका आफ्ना माता र देवीहरूको सम्मान नहुने अत्यन्तै कहालीलाग्दो स्थितिका बीच हामी दशैं मान्दै आएका छौं ।

दशैं पर्वले नेपालीहरूलाई आफ्नो दुःख–सुख साट्न र रिसइबी, बदला, आक्रोश र आशक्ति छोडेर एकआपसमा आत्मीयता बढाउन अभिप्रेरित गर्दछ । घृणाभाव त्यागेर सद्भावना बढाउन यो सुवर्ण अवसर हो, दशैंले एकता र मिलापका लागि उपयुक्त अवसर प्रदान गर्छ । नेपालमा रहेका हुन् वा नेपाल बाहिर रहेका हुन्, सबै नेपालीले आफ्नो पहिचान तथा नेपाली बन्धुत्वभावलाई कायम राखेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियताप्रति समर्पण र प्रतिबद्घ हुन दशैंले सार्थक प्रेरणा दिन्छ । वास्तवमा दशैं हिन्दूको मात्र पर्व होइन, यो नेपालीहरूको महान चाड हो । विजयादशमीको रूपमा पनि परिचित यो पर्वले नछुने थोरै नेपालीहरू छन् । उत्साह, उमँग र हर्षका साथ विविध रमाइला क्रियाकलापसहित मनाइने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ ।

युगीन आलोकमा चिन्तनको महापर्व हो दशैं । सामाजिक भोगाइको वर्तमान सन्दर्भमा यो पर्व धनीमानी र हुनेखानेको लागि मात्र हो कि भन्ने तीतो परिवेश छ । सामान्य नागरिकको आम्दानी र बजार भाउबीचको तालमेलमा गडबड छ । असन्तुलित र असहज परिस्थितिमा सीमित खर्चले दशैं मान्नुपर्नेछ नेपालका धेरैजसो परिवारका लागि । कहालीलाग्दो अभावका बीच दशैं मान्दाको पीडा वर्णन गरी साध्य छैन । महँगीले आकाश चुलिएको समय हो योरु। यो दुःख, वेदना र व्यथा बुझिदिने को छ ? अनेकौं अवर्णनीय व्यथा र अभावका बीच पनि दशैं मनाउनै परेको छ । हुन त यो चाडसँग राम र रावण, देवी र दानवको कथा जोडिएको छ, अझै यसमा त नेपालको विशिष्ट अन्तरजातीय र बहुधार्मिक यथार्थ पनि प्रतिबिम्बन भएको पाइन्छ ।

जातीय विविधताका बीच साँचो अर्थमा राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रोसामु यो दशैं । नेपाली जनताको बलियो एकताको सन्देश दिन बडा दशैं सफल हुँदै आएको छ । मनमा पिर र मुहारमा खुशी ल्याउनै पर्ने बाध्यताका बीच दशैं मनाइँदैछ । पन्ध्र दिनसम्म मनाइने यो पर्व सबै नेपालीको साझा पर्व हो । यसको सामाजिक र सांस्कृतिक महŒव पनि छ । यो पर्व मनाउन देश–विदेशबाट आफ्ना अभिभावक र घरपरिवारसँग भेटघाटका लागि आउने चलन छ । यो चाड सत्ययुगमा देवीले महिषासुर दानवलाई मारेको र त्रेतायुगमा श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुशीयालीमा मनाउन थालिएको विश्वास गरिन्छ ।

नेपालीको सबैभन्दा ठूलो यो चाडका अनेक आयामहरू छन् । जसमध्ये अर्थतन्त्रमा पार्ने प्रभाव पनि एक हो । दशैं, तिहार र छठ पर्व लगायतका चाडपर्वहरू नेपाली अर्थतन्त्रका मुख्य चलायमान समय हुन् । यो बेलामा नेपालीले अत्यधिक वस्तु तथा सेवाको उपभोग गर्छन् । दशैंले हरेक परिवारलाई अतिरिक्त आर्थिक दबाब थोपर्छ । दशैंले परिवारलाई मात्र होइन, सिंगै देशकै अर्थतन्त्रलाई हल्लाउँछ । दशैंका सन्दर्भमा नेपालमा प्रतिध्रुवीय विचारका अनेकौँ रूप क्रियाशील छन् । दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, साहित्य, कला–संस्कृति आदि सबै क्षेत्रमा यसलाई नियाल्न सकिन्छ । अन्धविश्वास, रुढी, व्यक्तिवाद, उपभोक्तावाद आदिलाई मलजल गर्ने अनेकौँ दृष्टिकोण छन् । भाग्य र कर्मको दास बनाउने, परलोक र पुनर्जन्ममा विश्वास जगाउने, यथार्थ एवम् आलोचनात्मक विवेकबाट विरत तुल्याउने अनेकौँ शास्त्र छन् ।

लोकप्रियतावादी, सांस्कृतिक एवम् धार्मिक अतिवादी विचार हलक्क बढेका छन् । साहित्य, कला एवम् मनुष्यको वस्तुकरणको प्रक्रिया तीव्र छ । बजार निर्णायक र नियामक छ । दशैंको समाजपरक एवम् सौन्दर्यपरक भूमिका विरोधी दृष्टिकोण सक्रिय छन् । अन्धविश्वासी स्वरहरू सघन छन् । परिवर्तनपछि पनि नेपालको तस्वीर धेरै फेरिएको छैन । नेपालको पुँजीवाद दलाल पुँजीवादका रूपमा छ । मुलुक आर्थिक रूपले कमजोर छ । भ्रष्टाचार डरलाग्दो गरी बढेको छ । अति वर्ष, बाढी, पहिरो, डुबान आदिले तीन सय बढी नेपालीको ज्यान गएको छ, हजारौं बेपत्ता छन्, घरवास उठीवास भएको छ, रेडक्रस, आश्रयदाताको सेल्टरमा शरण परिरहेका छन् धेरै परिवार । धेरै बालबालिका टुहुरा छन्, धेरै बा–आमा बालबालिका गुमाएर पीडामा छन् । यस्तो दुःखद् अवस्थामा हामी दसैं मनाइरहेका छौं ।

काठमाडौं उपत्यका र बाँकी नेपाल अलगथलग जस्ता भएका छन् । बाटाहरु अवरुद्ध छन् । राजनीति अनेकौँ विकृति र विसङ्गतिले आक्रान्त छ । वर्गीय, जातीय, लैङ्गिक, सामाजिक–सांस्कृतिक एवम् धार्मिक विभेद र उत्पीडन घटेका छैनन् । प्रत्येक दिन १५ सयभन्दा बढी युवा विदेशिन्छन् । दशैंमा प्रयोग हुने अधिकांश वस्तुहरू विदेशबाट आउँछन् । अत्यधिक सामानको आयातले नेपालको यसै पनि असन्तुलित नेपालको वैदेशिक व्यापारलाई थप असन्तुलित बनाइदिन्छ । आयात र निर्यातको अन्तराल झन् बढाइदिन्छ ।

दशैं नेपालको आर्थिक परनिर्भरता, आडम्बरयुक्त उपभोग, मुलुकको सेवा र वस्तु उत्पादन एवम् वितरण प्रणाली माथि नागरिकहरूको द्रूतगतिमा घट्दो विश्वासको परिचायक बनेको छ । गरीब र धनी वर्गबीचको थप टड्कारो हुँदै गएको विभेद मापन गर्ने एउटा स्पष्ट मानकको रूपमा दशंैंलाई लिन सकिन्छ । यो चाड सुख, समृद्धि र सत्यको प्रतीक हो भनेर विश्वास गरिन्छ । तर, नेपाल आर्थिक रूपमा द्रूतगतिमा उल्टो बाटोमा हिँड्दैछ र यसको ज्वलन्त उदाहरण दशैं बनेको छ र आमरूपमा चाडबाड यसका दृष्टान्त बनेका छन् ।

वर्षभरि रकम जोहो गरेर, त्यसबाट नपुग्नेले ऋण गरेर भए पनि खुशीयालीपूर्वक दशैं मनाइन्छ । तर, जब दशैं सकिन्छ, त्यसको हिसाबकिताब सल्टाउन धेरै समय लाग्छ । त्यसैले त उखानै बनेको छ– ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई ।’ तसर्थ दशैं आफ्नो क्षमतामा रहेर मनाऔं । दशैंका सन्दर्भमा पनि रुढीवादी, उपभोक्तावादी, दलाल पूँजीवादी पक्षको विरोध जरुरी छ । दशैंका असल परम्परालाई संरक्षण, विकास र विस्तार गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here