अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको २५औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष देउनारायण राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेतले उद्घाटन गरेका थिए ।
सभामा संस्थाको गत आर्थिक वर्ष ०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०८१÷०८२को बजेट, वार्षिक नीति तथा कार्यक्रम अध्यक्ष राईले र महालेखा परीक्षण प्रतिवेदन सचिव ओम तोलाङ्गीले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्षमा एक करोड ३८ लाख ४३ हजार तीन सय ८३ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षमा अनुमानित ८२ लाख ४७ हजार छ सय ४९ रुपैयाँ ७५ पैसा बराबरको बजेट उल्लेख गरिएको छ ।

जसअनुसार गरिबी न्यूनिकरण तथा महिला अभिमुखिकरणतर्फ २८ लाख ८६ हजार छ सय ७७ रुपैयाँ ४१ पैसा, वन विकासतर्फ २० लाख ६१ हजार नौ सय १२ रुपैयाँ ४३ पैसा, प्रशासनिकतर्फ २० लाख ६१ हजार नौ सय १२ रुपैयाँ ४३ पैसा र सामाजिक विकासतर्फ १२ लाख ३७ हजार एक सय ४७ रुपैयाँ ४६ पैसा विनियोजन गरिएको छ ।
सोही सभामा संस्थाका कर्मचारी नरबहादुर रम्तेललाई दिर्घसेवा सम्मानबाट सम्मान पत्रसहित नगद १० हजार र दोसल्ला ओढाई सम्मानित एवम् विदाइ गरिएको थियो ।
सभामा अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, कनकाई सब डिभिजन वन कार्यालयका कार्यवाहक प्रमुख सुरेशकुमार खनाल, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, लेखा समितिका संयोजक टंक बराल, सल्लाहकार समितिका संयोजक लीलाराज आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
समूहकी उपाध्यक्ष बुद्धकला फुँयेल ढकालले स्वागत गरेको उक्त सभाको सञ्चालन संयुक्तरुपमा सचिव तोलाङ्गी र सदस्य युवराज आचार्यले गरेका थिए ।






























