राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पक्राउ

0
20

झापा,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ प्रहरीले उनलाई पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । उनी दोस्रो पटक पक्राउ परेका हुन् ।
गोरखा मिडिया नेटवर्कमा सर्वसाधारणको बचत रकम दुरुप्रयोगमा रविको पनि संलग्नता रहेको पाइएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्ब गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।
कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।
जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
साहारा सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगेर अपचलन गरेको सहकारी छानविन संसदीय विशेष समितिले ठहर गर्दै रविलाई कारवाहीको सिफारिस गरेको थियो । संसदीय विशेष समितिको सिफारिस अनुसार प्रहरीले रविलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो । न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो।
यसअघि यही मुद्दाको दोस्रो चरणको अनुसन्धानमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ।
पोखराको सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए। लगत्तै रवि पक्राउको तयारी अघि बढाइएको थियो।
सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो। समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो। गृहमन्त्री लेखकले आइतबार प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त प्रतिवेदन कार्यन्वयनमा अगाडि बढ्न निर्देशन दिएका थिए।
पूर्वडीआईजीसमेत रहेका जोशी, पूर्वगृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई ब्यापारिक साझेदार हुन्।
यस अघि पाँच वर्षअघि पनि उनलाई प्रहरीले पक्राउ गरेर १५ दिन थुनामा राखेको थियो ।
त्यतिबेला न्युज २४ टेलिभिजनमा काम गर्ने नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने २०७६ साउन ३१ गते पक्राउ परेका थिए । उनलाई त्यसबेला चितवन र काठमाडौंको संयुक्त प्रहरी टोलीले रविलाई न्युज २४ को कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । उनी चितवनमा १५ दिन थुनामा बसेर निस्किएका थिए।
त्यसपछि फेरि टेलिभिजनमै सिधा कुरा जनतासँग चलाइरहेका रविले २०७८ मा ग्यालेब्सी फोर टेलिभिजनमा प्रबन्ध निर्देशक बन्दै समाचार कक्षको नेतृत्व गरे। तर, सो टेलिभिजनमा रविलाई स्वीट सेयर दिइएको थियो।
२०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर प्रतिनिधि सभाको चुनावमा होमिएका थिए । पार्टी स्थापना गरेको ६ महिनामै उनको दलले ७ प्रत्यक्ष र १३ जना समानुपातिक सांसद जित्न सफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here