महिला तथा बालबालिका बेचबिखनको जोखिममा

0
3
राँझा (बाँके),
गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो ।
जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । “दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायाँै, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो”, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो, “प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ ।”
अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो । उहाँले दसैँमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताउनुभयो ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ ।
हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन् ।
माइती नेपालले बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दसैँ अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । गत असोज १ देखि ३० गतेसम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगन्जले सीमा नाकाबाट उद्धार गरेको हो ।
तीन बालक १८ वर्षमुनिका, १७ र १८ वर्षमाथिका २५ महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here