मुलुकको आम्दानीको स्रोतहरु मध्ये पर्यटनलाई एउटा बलियो आधार मानिएको छ । त्यसैले प्रत्येक सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्न विशेष कार्यक्रमसहित भ्रमण वर्ष मनाउने गरेको छ । हुन पनि नेपालको प्रकृति विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र रहेको छ । यहाँका जीवजन्तु, हिमाल, पहाड, वनजंगल तथा वन्यजन्तु मात्र होइन भाषा, संस्कृति र भेषभुषाले पनि विदेशीहरुलाई लोभ्याउने गरेको छ । प्रत्येक दिनजसो कुनै न कुनै पर्व, संस्कृति र रीतिरिवाजका गतिविधिहरु भइरहने देश भनेर विश्व समुदायमार्फत परिचित हुनु नै पर्यटकीय गन्तव्यको आधार हो ।
पर्यटनलाई आज उद्योगको दर्जा दिइएको छ । पर्यटनका माध्यमबाट तत्क्षेत्रको विकास हुने, रोजगारको अवसर सृजना हुने र आम्दानीमा समेत वृद्धि हुने कारणले उद्योगको दर्जा दिइएको नेपाल विश्वकै अग्लो हिमाल सगरमाथाको देशका रुपमा सुपरिचित छ, जसले पर्वतारोही मात्र होइन सम्पूर्ण विश्वका मानव जातिलाई लोभ्याएको छ । प्राकृतिक सौन्दर्यका दृष्टिले दुर्लभ देश नेपाल सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधता समेतले समृद्ध छ । त्यहीकारण लाखौं पर्यटकहरु प्रति वर्ष यहाँको सौन्दर्यको अवलोकन गर्न, अध्ययन र अनुसन्धान गर्न आउने गर्छन् । उनीहरुलाई आवश्यक वस्तु, सेवा, सुविधाको समुचित व्यवस्थापन गर्न सकिए यसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान हुनेमा विमति रहन्न ।
असीमित पर्यटकीय सम्भावना भएर पनि पर्यटकीय क्षेत्रको उचित तथा आवश्यक व्यवस्थापन गर्न नसक्दा यसको विकास अपेक्षाकृत हुन सकेको छैन । पर्यटकलाई लक्षित क्षेत्रसम्म पु¥याउने सडक तथा हवाई यातायातको विकास, गुणस्तरीय सेवा, सुरक्षा, मर्यादित पथ–प्रदर्शक र सुविधाको प्रत्याभूति हुन नसक्दा पर्यटन क्षेत्रले अझै पनि अपेक्षा गरिए अनुसार लाभ दिन सकेको छैन । पर्यटन क्षेत्रका पूर्वाधारकै विकास नभएका कारण आएका बाह्य पर्यटकहरुले गर्ने खर्च पनि कम हुने गरेको छ । पर्यटन व्यवसायीहरु नेपाल आउन हवाई सेवाको शुल्क महँगो भएकोले उनीहरुको नेपालमा गर्ने खर्च नै कम हुने बताउँछन् । त्यस्तै नेपाली विमानले दिने सेवा अनियमित हुने, गुणस्तरीय र विश्वसनीय नहुने कारणले पनि पर्यटकहरुले नेपालको आगमन सुरक्षित ठान्दैनन् । अनेक समस्याका बीच पनि आएका पर्यटकहरुले गुणस्तरीय सेवासुविधा पाउन नसक्दा बसाइ छोट्याउने गरेको व्यवसायीहरुको भनाइ छ ।
पर्यटनलाई उद्योगका रुपमा लिइए पनि अहिले नेपालीको विदेश मोह बढेका कारण नेपाल आउनेले भन्दा विदेश जाने नेपालीले बढी खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको बैशाखसम्म गरेको अध्ययन र विश्लेषणले विदेशीले भन्दा नेपालीले झण्डै साढे दश अर्ब रुपैयाँ बढी खर्च गरेको देखाएको छ । उक्त अवधिमा विदेशी पर्यटकले नेपालमा त्रिसठ्ठी अर्ब सत्ताइस करोड रुपैयाँ खर्च गरेको बैंकले उल्लेख गरेको छ । नेपालले भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटक ल्याउने लक्ष्य लिएको थियो । यसका लागि आवश्यक नीति र कार्ययोजना बनाएर पर्यटनमैत्री खर्च गर्ने वातावरण बनाउनु सरकारको कर्तव्य हो । त्यसैगरी पर्यटन क्षेत्रको विकास र विविधिकरण मार्फत देशको आर्थिक समृद्धि गर्न लाग्नु पर्दछ । यसले रोजगारीको अवसर सृजना हुन्छ र आर्थिक समृद्धिको लक्ष्य पूरा हुन्छ ।