‘सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोच बदल्न जरुरी’

0
79

काँक्रेविहार (सुर्खेत),

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनुभएको छ ।

आज मुसिकोटमा आयोजित नेकपा (एमाले) कार्यकर्ता भेलामा सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले भन्नुभयो, “सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदलौँ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन ।”

योजना छनोटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानुन बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफू नेतृत्वको सरकारले रोक्ने बताउनुभयो ।

शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गइसकेको उल्लेख गर्दै उहाँले बजेट ल्याइदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिनुभयो ।

“बजेटको कुरा गरेर जनतालाई क्षणिकरुपमा अल्मल्याउन सकिएला”, उहाँले भन्नुभयो, “तर राम्रो नीति र कानुन बनाउने हो भने त्यसको लाभ दीर्घकालीन रुपमा सबै नागरिक पाउँछन् ।”

सरकारले विनियोजन गरेको बजेटबाट व्यक्ति विशेषको योजना बनाउने परिपाटीप्रति खबरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आह्वान गर्नुभयो ।

फरक प्रसङ्गमा मुख्यमन्त्री कडेलले राजनीतिलाई कुनै पेसा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here