तस्करी रोक्न राजश्व अनुसन्धान सक्रिय

0
12

झापा ।

चाडपर्वको समयमा हुनसक्ने तस्करीलाई रोक्न राजश्व अनुसन्धान कार्यालयले सक्रियता बढाएको छ ।

झापा, इलाम, मोरङ, सुनसरीका विभिन्न नाकाबाट अवैध तस्करी बढेसँगै इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले गस्तीलाई व्यापकता दिँदै आफ्नो सक्रियता बढाएको हो । चाडपर्वको समयमा पूर्वी नेपालका विभिन्न भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर अवैध सामान भित्रिने क्रम बढेसंगै राजश्व अनुसन्धानले गस्ती बढाएको हो ।

सीमावर्ती भारतीय बजारबाट विशेषगरी विभिन्न कपडाजन्य सामानका अतिरिक्त दैनिक उपभोग्य तथा खाद्य सामग्री भन्सार छलेर भित्रिने गरेको पाइएपछि सो कार्यालयले राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको टोलीसहितको गस्तीलाई व्यापकता दिएको हो ।

यस क्रममा कार्यालयले विभिन्न नाकाबाट नेपाल भित्र्याएर काठमाडौँ लैजाँदै गरेको दुई ट्रक सामान नियन्त्रणमा लिएको छ । को १ ख ३४४१ र प्रदेश २–०३–००१–ख १०२ नम्बरको ट्रकमा लोड गरी काठमाडौँ लैजाँदै गरेको कपडाजन्य सामान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको कार्यालयले जनाएको छ ।

त्यहाँ इटहरी तथा झापाका विभिन्न व्यावसायीको सामान रहेको बताइएको छ । दुई ट्रकसहित ठूलो परिमाणमा सामान नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ भएकाले त्यसको विस्तृत विवरण खुलिनसकेको कार्यालयको भनाइ छ । त्यहाँ कुन–कुन व्यवसायीको नामको के कति मूल्य बराबरको सामान छ, ती सामान कुन नाकाबाट भित्रिएको हो, त्यसको भन्सार तिरेको कागजपत्र र प्रज्ञापन–पत्रको अवस्था के छ ? भनेर अनुसन्धान र छानविन भइरहेको बताइएको छ ।

राजश्व चुहावट नियन्त्रणका लागि पूर्वी नेपालका विभिन्न १४ वटा जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले पछिल्लो समय अवैध चोरी तस्करी नियन्त्रणका लागि २४सै घण्टा गस्ती गर्ने अभियानलाई प्राथमिकता दिएको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत उत्तमकुमार घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here