मलेशियाको जेलमा १४१ जना नेपाली

0
40

योगेन्द्र योगी,
बिराटनगर ।

बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइ रहेका छन् ।

केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर मेलशिया पुगेका उनीहरु विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् । मलेशियाको पेनाल कोर्ट अन्तर्गत ४२ जना जेलमा छन् । बलात्कार, झैझगडा लगायतका मुद्दाहरु उनीहरुमाथि लागेको छ ।

१५ जनालाई ज्यान उद्योग अन्तर्गतको (मर्डर) केस लागेको छ भने ५७ जनालाई इमिग्रेशन कानून उल्लंघन गरेको आरोप लागेको मलेशियास्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलिरामप्रसाद धामीले जानकारी दिए ।

अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् । यस्तै ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएर आएको प्रथम सचिव तथा सूचना अधिकारी धामीले जानकारी दिए । आर्थिक बर्ष २०८०÷०८१मा मलेशियाको जेलमा ४८१ नेपाली रहेकोमा त्यो संख्या घटेर साउन अन्तिमसम्म आइपुग्दा १४१ नेपाली मात्र मलेशियाको विभिन्न कारागारमा जेलजीवन बिताइरहेको सचिव धामीले बताए ।

साथीभाइसितको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको उनले बताए । मलेशिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतका कारणले नेपाली जेल पर्ने गरेका छन् ।

हामी जुन देशमा छौं, त्यो देशको कानूनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा सजाय भोग्न तयार हुनुपर्ने दूतावासले जनाएको छ । साथै कुनै पनि कानूनको उल्लंघन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको समेत जनाइएको छ ।

मलेशिया आउने नेपालीको संख्या बढेसँगै गैरकानूनी रुपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानूनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ । गैरकानूनी रुपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेशनले पक्राउ गरेको अवस्थामा करिव ३ महिनासम्म जेल कैद सजाय हुने र जेल सजायपछि डिपोर्ट गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here