सुन्दरहरैँचामा टिपरले किचेर मृत्यु भएकी महिला धरानकी भीमा राई

0
36

पथरिशनिश्चरे।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा दुर्घटनामा परेर मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिहीबार दिउँसो ३ः४० बजेतिर किचेर स्कुटर चालक महिलाको मृत्यु भएको थियो । मृतक धनकुटाको खोकु घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१५ की ४३ वर्षीया भीमा राई रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । मृतक को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन् ।डीएसपी जोशीका अनुसार टिपरलाई ‘ओभरटेक’ गरेर अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २७९१ नम्बरको बसमा स्कुटर ठोक्किएको थियो । बसमा ठक्कर खानसाथ अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई पछाडिबाट आउँदै गरेको बालुवा लोड गरेको टिपरले किचेको जानकारी उनले दिए ।

तीव्र गतिमा रहेको टिपरले किचेपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी स्कुटर चालक राईको विराटनगर ल्याइपुर्याउनसाथ मृत्यु भएको हो । यसअघि प्रहरीले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको जनाएको थियो ।

तर, घटनास्थलको सीसी क्यामेरा फुटेज हेर्दा दुर्घटनामा बस पनि संलग्न रहेको तथा टिपर र स्कुटर एउटै दिशाबाट आउँदै गर्दा दुर्घटना भएको पत्ता लागेको हो । शवलाई पोस्टमार्टमका लागि अहिलेसम्म कोशी अस्पतालमै राखिएको छ ।

मृतकका परिवारका सदस्यले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिइसकेको र शवको पोस्टमार्टमको प्रक्रिया अघि बढेको डीएसपी जोशीले बताए । उनका अनुसार टिपर र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २९ वर्षीय श्यामबाबु चौधरी तथा बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४० वर्षीय नेत्र दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनालगत्तै टिपर चालक चौधरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here