पथरी भेट्रान्स मिल्स भेट्रान्स विराटनगर विरुद्ध दुई गोल सेमीफाइनलमा प्रवेश

0
22

पथरी शनिश्चरे,

पथरी भेट्रान्सले मिल्स भेट्रान्स विराटनगरलाई शून्यको विरुद्ध २ गोल गर्दै सेमीफाइनलको यात्रा पक्का गरेको छ।

आज शुक्रबार मोरङको पथरी शनिश्चरे -१ जाँते मोडस्थित पथरी रङ्गशालामा सञ्चालन भइरहेको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्त्तर्गत आज सम्पन्न खेलमा पथरी भेट्रान्स एफसीले विराटनगरको मिल्स भेट्रान्स विरुद्ध २ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

सो प्रतियोगिता अन्तर्गत पूर्वाद्धको १५ औं मिनेटमा आयोजक पथरी भेट्रान्सका विक्रम लिम्बूले गोल पोष्टमा गरेको प्रहारले जाली चुम्दै आफ्नो टिमको खाता खोलेको थियो । निकै प्रतिस्पर्धात्मक प्रतियोगिताको दोस्रो हाफको २२ औँ मिनेटमा पुन: सोही टिमका सानु राजा ग्लान तामाङले विपक्षी मिल्स भेट्रान्स विरुद्ध अर्को गोल थप्दै २-० अन्तरमा पुर्याए । उनले गरेको गोल २-० गोलको अन्तर नै आफ्नो टिमको शानदार जितको आधार बन्यो । खेल अवधिभर दुवै टिमबाट थुप्रै प्रयासहरु असफल भएका थिए।

आजको खेलमा आयोजक पथरी भेट्टान्सका गोलकिपर याम मगर ‘भेट्रान्स अफ दि म्याच घोषित भए । उनलाई पथरी शनिश्चरे नगरपालिका वडा नं १ का वडाध्यक्ष भीमकुमार राईले प्रमुख अतिथिको तर्फबाट नगद १५ सय सहित मेडल प्रदान गर्नुभयो।

पथरी शनिश्चरे भेट्टान्स एफसीका अध्यक्ष टिकाराम राईको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिता हल्का वर्षा भएपनि खेल अवरुद्ध नभई सञ्चालन भएको थियो। भोलिको खेल मोरङका साहारा भेट्रान्स र विराट भेट्रान्स टिमहरूबीच भिडन्त हुने आयोजक समितिले जनाएको छ।

हिजोको उद्घाटन खेलमा झापाको दुधे भेट्टान विरुद्ध मोरङको उलाबारी भेट्टान्सले एकको विरुद्ध ३ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। झापा र मोरङका विभिन्न आठवटा उत्कृष्ट भेटान्स फुटबल क्लबहरूले भाग लिएको सो प्रतियोगिता हिजो कार्तिक ८ गतेदेखि सुरु भई आगामी कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार बापत १ लाख १ हजार र उपविजेताले ५५ हजार नगदसहित मेडल ट्रफी र तथा अन्य विधागत पुरस्कार प्रदान गरिदै आएको आयोजक समितिका अध्यक्ष टिकाराम राईले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here