रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) ले एकदिवसीय कर्जा विश्लेषण तालिम सम्पन्न गरेको छ।
संस्थाको वित्तीय व्यवसाय बिर्ताअर्जुन क्षेत्र अन्तरगत सेवाकेन्द्रगत उपसमिति स्तरीय कर्जा विश्लेषण तालिम बिर्तामोडमा सम्पन्न भएको हो।
शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा बिर्ताअर्जुन क्षेत्रीय उपसमितिको व्यवस्थापनमा सम्पन्न तालिममा संस्थाका सञ्चालक समिति सहसचिव अम्बिकाप्रसाद ढकाल र कर्जा विभाग प्रमुख सुबोध बुढाथोकीले सहजीकरण गरेका थिए।
उनीहरुले सहकारीका सदस्यलाई कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा, कर्जा सुरक्षण (धितो) व्यवस्था, जोखिमको संकेत, जोखिमबाट बच्ने उपाय, खराब कर्जाले पार्ने असर, कर्जा लगानी सदस्यसँग गर्नुपर्ने व्यवहारलगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक जानकारी गराएका थिए।
शिक्षा तथा तालिम उपसमिति संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, लेखा सुपरिवेक्षण समिति संयोजक रचना दाहाल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले धारणा राखेका थिए।
वचत तथा ऋण व्यवसाय बिर्ताअर्जुन क्षेत्र प्रमुख प्रकाश सुबेदीले संस्थाको वित्तीय झलक प्रस्तुत गरेको कार्यक्रममा शिक्षा तथा तालिम उपसमिति सदस्य गोपाल काफ्लेले स्वागत गरेका थिए।
कार्यक्रममा सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे, बिर्ताअर्जुन क्षेत्रीय उपसमिति संयोजक धर्मानन्द गुरागाईं, सदस्य तोमप्रसाद ओलीलगायतको आतिथ्य रहेको थियो। बिर्ताअर्जुन क्षेत्र अन्तरगतका १० वटै सेवाकेन्द्रका उपसमिति पदाधिकारी, कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिममा सहभागीको तर्फबाट दानाबारी सेवाकेन्द्र उपसमिति संयोजक शिव भण्डारीले तालिम अत्यावश्यक र उपलब्धिमूलक भएको बताएका थिए।
तालिम संस्थाका ६ वटै क्षेत्रहरुमा आगमी २७ गतेसम्म निरन्तर सञ्चालन हुने बताइएको छ। कार्यक्रमको सञ्चालन ऋण तथा वचत व्यवसाय बिर्ताअर्जुन क्षेत्र प्रमुख प्रकाश सुबेदीले गरेका थिए।




























