गणेश थापा,
झापा।

अर्जुनधारा–४ मा रहेको अर्जुनधारा स्वास्थ्यचौकी भवन सुविधासम्पन्न भए पनि सेवाग्राही नहुँदा सुनसान बनेको छ ।
सात कठ्ठा जमिनमा साढे दुई तले भवन निर्माण भए पनि सेवाग्राही उपचारका लागि नआउँदा सुनसान बनेको हो । दैनिक १० जनाभन्दा कम बिरामीको मात्र उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
सिनियर डाक्टर र अनुभवी नर्सहरु भए पनि अधिकांश बिरामी उपचारको निम्ति शनिश्चरे अस्पताल जाने गर्दछन् । किनकि त्यस अस्पतालमा बिमाबाट उपचार हुन्छ ।
जग्गादाताले ठूलो अस्पताल बन्छ भनेर जग्गा दिए, सरकार पक्षबाट भवन पनि ठूलै सोच राखेर अस्पताल नै हुन्छ भनेर बनाए । पार्किङ्ग स्थलसहितको भवन छ । तर, वडाभरिका स्थानीय नागरिक समेत अस्पतालको विषयमा जानकार छैनन् । विशेषज्ञ डाक्टर र सुविधासम्पन्न भवन निर्माण भए पनि उपचार सम्बन्धी जानकारी नहुँदा लाखौंको लगानी बालुवामा पानी भने जस्तै भएको छ ।
स्थानीय जनता र वडाका उच्चस्तरीय समाजसेवीहरुको एउटै आवाज छ कि स्थानीय सरकारले यो विषयमा चासो दिन जरुरी छ । एक जना मेडिकल अफिसर पठाएर बिमा सार्न मिल्नेसम्म नियम मिलाएर बिमा यस ठाउँमा ल्याउने हो भने यस ठाउँमा अर्जुनधारा वडा नं. ३, ४, ५ र ७ का स्थानीयले प्रत्यक्ष लाभ लिन पाउने थिए ।
अर्जुनधाार–७ खोलावारि ३ नं. साविक खुदुनाबारी–८ का र ५ का स्थानीयहरुलाई सेवा मिल्ने स्थानीयको भनाइ छ । शनिश्चरे अस्पतालमा बिहान ७ बजे पुगेका बिरामी बेलुका ५ बजेसम्म बस्नुपर्ने बाध्यता रहेको उपचारमा पुगेका बिरामीहरुको भनाइ छ ।
यस अस्पतालमा डाक्टरसहित आठ जना नर्सहरु कार्यरत् छन् । दुर्गाप्रसाद भट्टराई अहेब छैटौं, राजकुमारी शेर्पा नर्सिङ निर्देशक छैटौं, खेम दाहाल अहेब चौथो, सम्झना दाहाल अहेब चौथो, पारमिना पाण्डे कार्यालय सहयोगी, जनताले चिनेका रुचाएका डाक्टर र नर्सहरु हुँदा पनि उपचारका लागि बिरामी नआउँदा उनीहरुलाई दिन काट्नै मुस्किल परेको बताउँछन् ।































