जनताका हृदयका महाकवि लक्ष्मीप्रसाद देवकोटा

0
10

नेपाली भाषा (साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती आउँदो लक्ष्मीपूजाका दिन पर्दछ । नेपाली भाषा र साहित्यका महाकवि देवकोटा (वि. सं. १९६६–२०१६) नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदान उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल, पागल, यात्री जस्ता अमर कृतिहरू लेखेका थिए । विशेषगरी मुनामदनका लागि उनी सुप्रख्यात छन् । नेपाली वाङ्गमयका एक अद्वितीय र अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपाली साहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ । उनले नेपाली साहित्यमा रोमान्टिसिज्म् अर्थात् स्वच्छन्दता वादको शुरुवात गरी नयाँ पुस्ताका लेखकहरूलाई निक्कै प्रभाव पारे । उनले आपूmलाई आधुनिक स्वच्छन्दतावादी कविका रूपमा स्थापित गर्दै नेपाली साहित्यमा आफ्नो उच्च स्थान सुरक्षित गरेका छन् । उनी धेरै सहनशील, सहयोगी र दयालु थिए । नेपाली माझ उनका दानवीर भावना बारेमा यस्ता किंवदन्ती धेरै थिए ।

देवकोटा पण्डित तिलमाधव र अमर राज्यलक्ष्मीदेवीका तेस्रो छोराका रूपमा धोबीधारा, काठमाडौंँमा कात्तिक २७ गते १९६६ मा जन्मेका थिए । उनी जन्मेको साल कात्तिक २७ मा लक्ष्मीपूजा परेको थियो । तिहारको लक्ष्मीपूजाका दिन उनी जन्मनु एउटा सामान्य घटना थियो, तर राणा शासनको कालरात्रीमा लक्ष्मीपूजाका दिन उनी जन्मनु एउटा प्रतिकात्मक अर्थ बोक्न पुग्यो उनको जन्मले । जसरी लक्ष्मीपूजाका दिन बत्तीहरूले धर्ती उज्यालो बनाएका थिए, त्यसैगरी निरङ्कुश राणा शासनमा उनी उज्यालो बत्ती झैं चेतनाको दीप प्रज्ज्वलित गर्ने सारथि भएका थिए, उनी निशामाझ चिराग बनेर उदाए । उनको न्वारानको नाम तीर्थमाधव भए पनि बुबाआमाले लक्ष्मीको प्रसाद सम्झी लक्ष्मीप्रसाद राखेका थिए, तर लक्ष्मीप्रसाद नाम राखिए पनि उनी वास्तवमा सरस्वतीप्रसाद भए ।

देवकोटा बहुमुखी प्रतिभाशाली र विराट व्यक्तित्वका धनी महान लेखक थिए, जसले आफ्नो ५० वर्षको छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले लेखेको मुनामदन आज पनि नेपालमा धेरै बिक्री हुने पुस्तकको सूचीमा पर्दछ । त्रिभुवन विश्वविद्यालयको स्थापना, विद्यालयमा नेपाली भाषा अनिवार्य गर्ने कुरा र प्रज्ञा प्रतिष्ठानको गठन उनकै पहल र मार्गदर्शनमा भएका हुन् । नेपाली भाषाका महान नाटककार बालकृष्ण समले देवकोटा तीनचोटी जन्मेको बताएका छन्– ‘शाकुन्तल’ महाकाव्यसँग, ‘मुनामदन’ खण्डकाव्यसँग र ‘पागल’ कवितासँग । भारतका महान लेखक राहुल सांकृत्यायनले देवकोटाको अति उच्च मूल्याङ्कन गर्दै उनलाई तीन भारतीय महान् लेखकहरूको समुच्च रूप भनेका छन् ।

भारतीय महापण्डित राहुल सांकृत्यायनले भनेका थिए– ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवावतारका रूपमा लिएको छु ।’ सांकृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा साहित्य, कला, भाषा, धर्म र दर्शनका मर्मज्ञ थिए । भनिन्छ– उनी १४ वटा भाषामा बोल्न सक्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिक मार्फत् जनसमक्ष पनि आए । उनी सफल साहित्यकार मात्र नभएर मानवीय करूणा, सहयोग, सद्भाव र ममताका खानी थिए भन्ने कुरा उनका बारेका चर्चा र किंवदन्तीहरू बताउँछन् ।

पद्मकन्या र त्रिचन्द्र क्याम्पसमा पढाउने, ट्युसन पढाइरहने, नेपाली भाषानुवादका जागिरे, शिक्षामन्त्री भइसकेका देवकोटा गरीब थिए भनेर मान्न त सकिँदैन, तर गरीबीले उनलाई सदैव पछ्याइरह्यो । उनी सानैमा भन्थे– ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर, परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कूलमा भर्ना गरिएको थियो ।

देवकोटामा ब्रिटिस कविहरू जोन किट्स्, पी.बी.शेली र विलियम वर्ड्स्वर्थको प्रभाव परेको थियो । उनले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौड्यालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कूलमा आठौं कक्षाबाट एकै पटक दशौं कक्षा पढे । उनले १७ वर्षका हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएर प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले प्राइभेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे । अङ्ग्रेजीमा एम्.ए. गर्ने धोको छोरी र बुबाआमाको मृत्युको कारणले सम्भव भएन । देवकोटालाई जादुई कवि मानिन्थ्यो । मानिस उनलाई काव्यसागरका जलदेवता भन्थे । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए ।

बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे, उनी सदैव कल्पनामा हराइरहेका पाइन्थे । रूपरेखा, भानु, रचना जस्ता साहित्यिक पत्रिकाले देवकोटाका विशेषाङ्क निकालेर देवकोटालाई चिनाए र उनले लगाएको ऋणको थोरै भए पनि तिर्न कोशिस गरे । देवकोटालाई आध्यात्मवादीहरू आध्यात्मिक मान्छन् त भौतिकवादीहरू भौतिकवादी । त्यस्तै संस्कृतका मर्मज्ञहरू देवकोटामा कालिदास, भवभूति र श्रीहर्षको छनक पाउँछन् त अङ्ग्रेजीका मर्मज्ञहरू देवकोटामा वर्ड्स््र्वर्थ, शेली र किट्सको झझल्को अनुभव गर्छन् । अनि सर्वसाधारण नेपाली चाहिँ मुनामदनका श्लोकहरू झ्याउरे स्वरमा ढाल्दै नेपाली लोकलयका प्रवर्तक र नेपाली समाजकै लोकप्रिय कवि मान्छन् ।

आफ्नो छोटो जीवनकालमा साहित्यका कविता, निबन्ध, कथा, महाकाव्य, नाटक, उपन्यास, समीक्षा जस्ता प्रायः सबै विधामा कलम चलाएर पनि सफलताका सिँढी प्रतिभाका पाइलाले सजिलैसित चढ्न सक्ने देवकोटाको कृतित्वको विश्लेषण सरल र सुगम छैन । देवकोटाको जीवनदर्शन मानवतावादी छ । मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने उनको सन्देश छ । उनले मानवताका लागि अमर सन्देश दिने कविताहरू रचना गरे । आफ्नो जीवनका अन्तिम दिनतिर शान्तभवन अस्पतालमा रहँदा उनी लेख्छन्– रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान । आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक । यसबाट उनले ईश्वरको विराट अस्तित्वलाई स्वीकारेको प्रष्ट हुन्छ ।

राणा शासनको निरङ्कुश शासनका बेला एकातिर गरिबीको मार अर्कोतिर ऐशआरामको चमत्कार देख्दा देवकोटा पनि क्रान्तिकारी बन्न बाध्य बनेका थिए र उनी क्रान्तिकारी बनेका पनि थिए । वर्गीय असमानताले उनको हृदय छियाछिया हुन्थ्यो । ‘पागल’ कवितामा उनले तत्कालीन विसङगति, शोषण, अन्याय, पाखण्डप्रति विद्रोह बोलेका छन् । इलामेली कवि विष्णु नवीनले ‘सत्य कुरा बोल्ने पागल हुन्छ वा सत्य बोल्न पागल हुनुपर्छ’ भने झैं देवकोटा पनि दुनियाँका नजरमा पागल लाग्थे ।

देवकोटा कट्टर देशभक्त थिए । आफ्नो देश, सभ्यता, संस्कृति, भाषा र परम्परागत वैभवप्रति उनी अत्यन्त आस्था प्रकट गर्छन् । उनको ‘के नेपाल सानो छ ?’ निबन्धमा नेपाललाई माया गर्दै देवकोटा लेख्छन्– ‘सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफंै विश्व छ, दूर तर दूरताको दिव्य जादु छ, हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्को झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरविन्दु नै होस् तर आँखाको बिन्दु झंै यही परमानन्द घनीभूत छ ।’ नेपाललाई देवकोटा सानो, मीठो, शान्त, सुगन्धी र अनुपम ठान्छन् । एउटा सानो विश्वको रूपमा कल्पना गर्छन् । देवकोटालाई अमर राष्ट्रभक्त कविका रूपमा मान्न सकिन्छ ।

देवकोटाको उपचारको क्रममा विदेशी डाक्टरहरुले भनेका थिए– ‘देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु ज्योग्रापिकल मिस्टेक अर्थात भूगोलको गल्ती हो ।’ देवकोटा अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन तत्कालीन सोभियत सङ्घमा पर्ने शहर तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्ण शम्शेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो राजा महेन्द्रबाट । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजाले उनको पारिश्रमिक निकासा गरिदिए । उचाल्ने, थेचार्ने, कुरा लाउने, कुरा सुन्ने र क्षमा दिने गलत गलत मानवीय प्रवृत्ति आज पनि छ । देवकोटालाई पनि कपडाको खेलाउने पुतली झैं, झ्याइँकुटी झैं खेलाइयो र उनी शासक, प्रशासक, राजामहाराजाको कोपभाजनमा परे ।

महाकवि देवकोटाको घर लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय बनाउने र स्वदेश तथा विदेशका नेपाली भाषा–साहित्यप्रेमीहरुको लागि आकर्षक पर्यटकीय केन्द्र बनाउने काम शुरु भएको छ । देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए पशुपति आर्यघाटको धर्मशालामा र भोलिपल्ट उनको सम्मानपूर्वक अन्त्येष्टि गरियो । उनको पार्थिव शरीर नरहे पनि उनी सदासर्वदा नेपाली साहित्यकाशमा उज्ज्वल नक्षत्रको रूपमा चम्किरहनेछन् । देवकोटा महाकाव्यकार भएर महाकवि भएका होइनन्, उनी त जनताका हृदयमा वास बस्ने महान् कवि भएर महाकवि बनेका हुन् । उनी सदैव नेपाली जनताका स्मृतिमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here