झापा,
बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो ।
कुमाल समुदायसँग पुख्र्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् ।
स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पु¥याइने बताउनुभयो । “दिनरात मेहनत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तराई र पहाडका सबैजसो बजारमा पु¥याउँछौँ ।”
बाह्रदशीमा कुमाल समुदायका ६० परिवारले यस वर्ष रु एक करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन् । खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिइएको चम्पादेवीले बताउनुभयो । यसले पेसा संरक्षण हुनुका साथै पुस्तान्तरण पनि हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पछिल्लो समय आयातीत विद्युतीय सामग्रीका कारण माटाका सामग्रीको असर बजारमा परेको बताउनुभयो । यहाँ हरेक परिवारले दुई लाखका दरले पालालगायत माटाका सामान बनाउने गरेका छन् । कुमाल समुदायले उत्पादन गरेका सामग्री व्यवसायीले घरैबाट खरिद गरेर लैजाने गरेका छन् ।
अमितकुमार पण्डितले भदौदेखि तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताउनुभयो । उहाँले झापाका अन्य पालिकामा कुमाल समुदायको पातलो बसोबास रहेको भन्दै बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेका जानकारी दिनुभयो ।
कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ । दीपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला बिक्री हुने गर्दछ । कुमाल केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे । तर हाल मोटरबाट चल्ने विद्युतीय चक्रबाट सामग्री बनाउने गरिएको छ ।
पाला बनाउने माटो आफैँले किनेर ल्याउनुपर्ने भन्दै माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा उहाँको गुनासो छ । एक टिपर माटो खरिद गर्न रु १० देखि १२ हजार तिर्नुपर्ने पण्डितको भनाइ छ ।